काठमाडौँ : नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रूपमा ‘बटन अन’ गरी दुई महत्त्वपूर्ण पेट्रोलियम पूर्वाधार परियोजनाको हस्तान्तरण तथा शिलान्यास गरेका छन् ।
दुई देशका प्रधानमन्त्रीले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन दोस्रो चरणको परियोजना हस्तान्तरण र झापास्थित ग्रिनफिल्ड आयल स्टोरेज टर्मिनलको शिलान्यास सम्पन्न गरेको नेपाल आयल निगमले जनाएको छ।
निगमका अनुसार ‘दोस्रो चरणको निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपो नेपालकै पहिलो अत्याधुनिक पेट्रोलियम टर्मिनल बन्न पुगेको’ हो । यस चरणअन्तर्गत ४ हजार १ सय किलोलिटर क्षमताका दुईवटा पेट्रोल ट्याङ्क, २४ ‘बे’ को स्वचालित ट्याङ्क–ट्रक लोडिङ ग्यान्ट्री, टर्मिनल अटोमेसन सिस्टम, गुणस्तर नियन्त्रण प्रयोगशाला तथा अत्याधुनिक अग्निनियन्त्रण संरचना निर्माण एवं स्तरोन्नति गरिएको छ।
यो परियोजना नेपाल र भारत सरकारबिच सन् २०१५ मा भएको जीटूजी सम्झौता तथा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) बिच भएको व्यावसायिक सम्झौताबमोजिम सम्पन्न भएको हो ।
यसैगरी, भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माण हुने झापा ग्रिनफिल्ड आयल स्टोरेज टर्मिनल परियोजनाको समेत दुवै देशका प्रधानमन्त्रीले शिलान्यास गरेका छन्। यस परियोजनाअन्तर्गत भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म कुल ५० किलोमिटर लामो ८ इन्च व्यास भएको क्रस(बोर्डर पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ। जसमा भारततर्फ ३६ किलोमिटर र नेपालतर्फ १४ किलोमिटर खण्ड रहनेछ।
साथै, चारआलीस्थित निर्माणाधीन स्थलमा पेट्रोलका लागि ६ हजार ६ सय किलोलिटर र डिजेलका लागि १२ हजार ३ सय किलोलिटर क्षमताका भर्टिकल ट्याङ्कसहितको अत्याधुनिक डिपो पूर्वाधार तयार गरिनेछ। परियोजना हस्तान्तरण तथा शिलान्यासका अवसरमा सम्बन्धित दुवै स्थलमा विशेष समारोह आयोजना गरिएको थियो।
अमलेखगञ्जमा आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी, जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख, बाराका प्रमुख जिल्ला अधिकारी, भारतीय दूतावासका प्रथम सचिव, आईओसीका कार्यकारी निर्देशक (अपरेसन), सुरक्षा निकायका प्रमुख, निगमका नायब कार्यकारी निर्देशकसहित व्यवसायीहरूको उपस्थिति थियो।
त्यस्तै, झापाको कार्यक्रममा निगम सञ्चालक समिति सदस्य एवम् उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक, मेचीनगर नगरपालिकाका प्रमुख, झापाका प्रमुख जिल्ला अधिकारी, निगम तथा आईओसीका कार्यकारी निर्देशकहरू, नेपालस्थित आईओसीका कन्ट्री म्यानेजरलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij