काठमाडौं : खसीको मासु भन्दै बाख्रा तथा पाठीको मासु बिक्री गरेको आरोपमा काठमाडौंको टुकुचाबाट ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्रा तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले शनिबार बिहान ४ बजे बजारमा पुगेर जाँच गर्दा ८ जना व्यक्तिले करिब ५६७ किलो बाख्राको मासु भ्यान र पिकअप गाडीमा लोड गरिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ घर भई टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिकोट घर भई टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा र धादिङको गजुरी गाउँपालिका–१ घर भई बागबजार बस्ने २६ वर्षीय सनम तामाङ रहेका छन् ।्
यस्तै, धादिङकै २२ वर्षीय राजु लामा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ का २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ घर भई मैजुबहाल बस्ने २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij