Logo

Nov 28 2026 | २०८३, मंसिर १३गते

चार युवाको ४ करोड २० लाख लगानी, ठोरीमा फस्टाउँदै पर्यटन व्यवसाय

चार युवाको ४ करोड २० लाख लगानी, ठोरीमा फस्टाउँदै पर्यटन व्यवसाय

पर्सा : सडक पहुँच विस्तारले सम्भावनाको ढोका खोलेपछि ठोरीमा पर्यटन व्यवसायमा लगानी गर्ने क्रम बढ्न थालेको छ। यही सम्भावना देखेर चार वर्षअघि चार युवाले सुरु गरेको ठोरी जंगल रिसोर्ट अहिले पर्यटकको आकर्षण बनेको छ। दैनिक तीनदेखि चार सयसम्म ग्राहक पुग्ने यो रिसोर्टमा आउनेमध्ये करिब ७० प्रतिशत भारतीय पर्यटक छन्।

सुरुमा रेस्टुरेन्ट र टेन्टका कोठाबाट व्यवसाय थालेका सञ्चालकले अहिले लगानी बढाएर ४ करोड २० लाख रुपैयाँ पुर्‍याएका छन्।

चितवनलगायत विभिन्न स्थानमा व्यापार व्यवसायमा संलग्न सुदीप थापा, धीर सिंह, अम्बिका कुमारी खत्री र सरला खत्रीले संयुक्त लगानीमा आफ्नै पुर्ख्यौली थलोमा रिसोर्ट सञ्चालनमा ल्याएका हुन्। थापा रिसोर्टका अध्यक्ष हुन् भने अन्य तीन जना सञ्चालक छन्।

हुलाकी सडकको पहुँच ठोरीसम्म विस्तार भएपछि त्यहाँ व्यापार व्यवसाय गर्ने वातावरण बनेको देखेर आफूहरूले पर्यटन क्षेत्रमा लगानी गर्ने निर्णय गरेको अध्यक्ष थापाले बताए। ‘ठोरीमा पर्यटनको राम्रो सम्भावना देख्यौँ। सडक पहुँच विस्तार भएपछि पर्यटक आउन सक्ने वातावरण पनि बन्यो। त्यसैले आफ्नै ठाउँमा केही नयाँ व्यवसाय गर्ने सोचले रिसोर्ट सञ्चालनमा ल्याएका हौँ,’ थापाले भने।

ठोरीकै पहिलो रिसोर्टका रूपमा स्थापित यो व्यवसाय २ बिघा १० कठ्ठा क्षेत्रफलमा फैलिएको छ। सुरुमा २ करोड रुपैयाँ लगानीबाट रेस्टुरेन्ट र टेन्टका कोठामार्फत सेवा सुरु गरिएको थियो। पर्यटकको आकर्षण र माग बढ्दै गएपछि सञ्चालकले क्रमशः पूर्वाधार विस्तार गर्दै लगानी ४ करोड २० लाख रुपैयाँ पुर्‍याएका हुन्।

रिसोर्टमा अहिले आठवटा भिल्ला निर्माण भइसकेका छन्। स्विमिङ पुल र थप १६ वटा कोठा निर्माणाधीन छन्। पाहुनाले विभिन्न सभा, समारोह तथा कार्यक्रम आयोजना गर्न सकून् भनेर कार्यक्रम हलको सुविधा पनि उपलब्ध गराइएको छ।

व्यवसाय विस्तारका लागि आगामी दुई वर्षभित्र थप चारवटा भिल्ला र ब्यांक्वेट हल निर्माण गर्ने योजना रहेको सञ्चालक धीर सिंहले बताए। नयाँ निर्माण हुने प्रत्येक भिल्लामा छुट्टाछुट्टै स्विमिङ पुलको सुविधा राखिनेछ। ‘सुरुमा सानो लगानीबाट व्यवसाय थालेका थियौँ। पर्यटकको आगमन र आकर्षण बढ्दै गएपछि पूर्वाधार थप्दै लगेका छौँ। अब अझ स्तरीय सेवा र सुविधा उपलब्ध गराउने गरी लगानी विस्तार गर्दैछौँ,’ सिंहले भने। रिसोर्टमा दैनिक तीन सयदेखि चार सयसम्म ग्राहक आउने गरेका छन्। तीमध्ये करिब ७० प्रतिशत भारतीय पर्यटक रहेको सिंहले बताए। भारतीय पर्यटकको आगमनले ठोरीमा पर्यटन व्यवसायको सम्भावना थप फराकिलो बनाएको उनको भनाइ छ।

रिसोर्टमा नेपाली, भारतीय, चाइनिज र कन्टिनेन्टल परिकार उपलब्ध छन्। पारिवारिक घुमघाम, खानपिन, मनोरञ्जन तथा विभिन्न कार्यक्रमका लागि आउने पाहुनालाई लक्षित गरी सेवा दिइँदै आएको छ। तर, भारतीय पर्यटकको आगमनलाई सहज बनाउनुपर्ने सञ्चालकहरूको माग छ। भारतबाट घुम्न आउने पर्यटकलाई सीमामा नेपाली सुरक्षाकर्मीले कहिलेकाहीँ अनावश्यक सोधपुछका नाममा दुःख दिने गरेको उनीहरूको गुनासो छ। यसले पर्यटकलाई असहज बनाउनुका साथै उनीहरूको आवागमनमा समेत प्रभाव पार्न सक्ने सिंह बताउँछन्।

रिसोर्ट सञ्चालनले स्थानीयस्तरमा रोजगारीको अवसरसमेत सिर्जना गरेको छ। अहिले एक दर्जनभन्दा बढी स्थानीय युवाले प्रत्यक्ष रोजगारी पाएका छन्। रिसोर्टको थप विस्तारसँगै रोजगारीका अवसर पनि बढ्ने सञ्चालकको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट