भरतपुर : नेपाल सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले चितवनको कालिका नगरपालिकास्थित शक्तिखोर औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी लिँदै अन्तर–मन्त्रालय समन्वयमार्फत औद्योगिक क्षेत्र सञ्चालनको प्रक्रियालाई तत्काल अगाडि बढाउन सम्बन्धित सरोकारवाला निकायहरूलाई निर्देशन दिनुभएको छ ।औद्योगिकीकरणमार्फत आर्थिक समृद्धि हासिल गर्ने र सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने नेपाल सरकारको लक्ष्यअनुरूप वि.सं. २०७४ सालमा शक्तिखोर औद्योगिक क्षेत्र घोषणा गरिएको थियो । चितवन उद्योग संघको लामो पहलमा १ हजार ७४१ बिगाहा क्षेत्रफलमा स्थापना गर्ने गरी घोषणा गरिएको यो नेपालकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र हो ।
देशकै मध्यभागमा अवस्थित शक्तिखोरमा नमुना औद्योगिक पार्क स्थापना भई उद्योगहरू सञ्चालनमा आएमा हजारौँको संख्यामा रोजगारी सिर्जना हुने र आयात प्रतिस्थापनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास उद्यमीहरूले गरेका छन् ।उक्त औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहने उद्योगीहरूले विगत ८ वर्षदेखि जग्गा माग गर्दै चितवन उद्योग संघको सचिवालयमा उत्साहपूर्वक आवेदन दिँदै आएका छन् । हालसम्म १०० भन्दा बढी उद्योगीहरूबाट ४०० बिगाहाभन्दा बढी जग्गा बुकिङका लागि प्राप्त आवेदनहरू औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा पठाइसकिएको संघले जनाएको छ ।
शक्तिखोर औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) समेत स्वीकृत भइसकेको छ । यथाशीघ्र शिलान्यास गरी निर्माण कार्य प्रारम्भ गर्न चितवन उद्योग संघले पटक–पटक नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आए पनि हालसम्म कुनै भौतिक प्रगति हुन सकेको छैन । मन्त्री लम्सालको स्थलगत अनुगमन र अन्तर–मन्त्रालय समन्वय गरी काम अघि बढाउने निर्देशनसँगै लामो समयदेखि अलपत्र परेको यस आयोजनाले गति लिने अपेक्षा गरिएको छ ।