काठमाडौं : फ्राइडे रिलिज अन्तर्गत आज पुस २६ गते शुक्रवारदेखि देशभरका सिनेमा हलमा नयाँ नेपाली फिल्म ‘कार्साङ’ प्रदर्शनमा आएको छ । यही फिल्ममार्फत अभिनेता दयाहाङ राई केही महिनापछि दर्शकमाझ आएका हुन् ।
यो फिल्मलाई ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ५३ शो दिएको छ भने अन्य सिनेमा हलहरुले पनि राम्रो शो उपलब्ध गराएका छन् । जसअनुसार आईएनआई सिनेमाजले १३ शो दिएको छ भने एफक्युब सिनेमाजले सात शो दिएको छ ।
शेर्पा समुदायको कथावस्तुमा आधारित ‘कार्साङ’ यम शेर्पाले लेखन तथा निर्देशनमा तयार भएको फिल्म हो । यो फिल्ममा दयाहाङसहित जितु नेपाल, दीया मास्के, सिर्जना निङ्लेखु, बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकारको अभिनय छ ।
छायांकारसमेत रहेका पुरुषोत्तम प्रधान यो फिल्मका निर्माता हुन् । आङछिरिङ शेर्पा प्रस्तुतकर्ता रहेको दुई घण्टा पाँच मिनेट लामो यो फिल्मले सिन्धुपाल्चोकको यार्सा गाउम्मा बसे शेर्पा समुदायको सांस्कृतिक पृष्ठभूमिमा पारिवारिक सम्बन्धको कथा भनेको छ ।
‘कार्साङ’ ले हेर्नै पर्ने मौलिक फिल्मको रूपमा चर्चा पाएको छ । शेर्पा समुदायको मौलिक कथा भन्ने यो फिल्मले उनीहरूको संस्कार र संस्कृति देखाउन नचुकेको कलाकारहरूको धारणा रहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij