काठमाडौँ : नायिका आँचल शर्मा फिल्म ‘झिँगेदाउ २’मा अनुबन्धित भएकी छिन् । आँचल र फिल्मका निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजाबिच अभिनय सम्झौता भएको छ । फिल्ममा यसअघि नायिकाको रूपमा केकी अधिकारी पनि जोडिएकी छिन् । फिल्ममा नायक मुकुन भुसाल पनि जोडिएको निर्देशक देउजाले जानकारी दिए ।
‘झिँगे दाउ’कै सिक्वेलको रुपमा ‘झिँगेदाउ २’ बन्न लागेको हो । फिल्मको लोकेसन हेर्ने काम पनि चलिरहेको छ । कथावस्तुको काम पनि अगाडि बढिरहेको छ । निर्देशक देउजाका अनुसार, दशैँपछि फिल्मको छायाङ्कन सुरु गर्ने तयारी गरिएको छ । ‘झिँगे दाउ’ जहाँ सकिएको थियो, सोही ठाउँबाट यसको सिक्वेलको उठान गरिनेछ ।
यसपटकको कथा अझै रोचक हुने निर्माणपक्षले बताएको छ । फिल्ममा यसपटक ‘झिँगे दाउ’का कलाकारहरूको साथमा अन्य केही नाम चलेका कलाकारहरू पनि लिने तयारी गरिएको छ ।
दर्शकले ‘झिँगे दाउ’लाई निकै रुचाएका थिए । फिल्मको गीतसंगीत, कथावस्तुलाई दर्शकले निकै रुचाएपछि यसको निर्माणपक्ष सिक्वेल बनाउन उत्साहित भएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij