Logo

Nov 02 2026 | २०८३, कार्तिक १७गते

विभिन्न स्थानमा बाढीपहिरो र निर्माण कार्यले मुख्य राजमार्ग प्रभावित

विभिन्न स्थानमा बाढीपहिरो र निर्माण कार्यले मुख्य राजमार्ग प्रभावित

काठमाडौँ :  नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको राजमार्ग अवरोधसम्बन्धी विवरणअनुसार बाढी, पहिरो तथा निर्माण कार्यका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित भएका छन्।

बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकको बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। रोशी गाउँपालिका–९ स्थित पिन्थली र वडा नम्बर ८ स्थित गिम्दिबेसीमा कात्तिक १४ गते बिहान ४ः५५ बजे पहिरो खसेको थियो। हाल पहिरो पन्छाएपछि उक्त सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

त्यस्तै, बागमती प्रदेशकै पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द हुने भएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित भालुवाटारमा पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले उक्त सडक खण्ड बन्द गर्न लागिएको हो। प्रहरीका अनुसार कात्तिक १६ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडक खण्ड पूर्ण रूपमा बन्द रहनेछ।

गण्डकी प्रदेशअन्तर्गत गोरखामा बाढीका कारण आवागमन पूर्ण रूपमा ठप्प भएको छ। आरुघाट गाउँपालिका–२ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल गत असोज २५ गते बिहान ५ः३० बजेदेखि बन्द छ। बाढीले पुलमा क्षति पुर्‍याएपछि उक्त स्थानमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो।

त्यस्तै, लुम्बिनी र कर्णाली प्रदेशका राजमार्ग पनि पहिरोका कारण प्रभावित भएका छन्। लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित सन्धिखर्क–गोरुसिङ्गे सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा छ। सन्धिखर्क नगरपालिका–६ स्थित नरपानीमा कात्तिक १५ गते बिहान ४ः१५ बजे पहिरो खसेको थियो।

यसैगरी, कर्णाली प्रदेशको सुर्खेतस्थित कर्णाली राजमार्ग पनि एकतर्फी रूपमा सञ्चालनमा रहेको छ। बराहताल गाउँपालिका–७ स्थित औलिसेमा कात्तिक १४ गते बिहान ५ः५५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएपछि हाल उक्त सडकमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।

प्रहरीले राजमार्गको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा प्रभावित सडकखण्डमा सावधानी अपनाउन आग्रह गरेको छ।

885577138_2222441078648225_8574564382973630710_n_TQJamGd7ej.webp
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट