काठमाडौँ : गायक दुर्गेश थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । ‘दुस्मन हेरेको हेर्यै’ गीतले १० करोड भ्यूज प्राप्त गरेको अवसरमा प्रधानमन्त्री ओलीले थापालाई सामाजिक सञ्जालमार्फत बधाइ दिएका थिए ।
ओलीले आइतबार सामाजिक सञ्जालमा लेखेका थिए, ‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीत/ सङ्गीतमा रुचि देखाउन थालेको 'दुस्मन हेरेको हेर्यै' गीतको भ्युवरबाट थाहा हुन्छ। दुर्गेश थापाको यो गीत सुन्नेको सङ्ख्या पाँच महिनामा १०० मिलियन ( १० करोड) पुगेको छ। गीतका सर्जक दुर्गेश थापालाई बधाई !’
जवाफमा थापाले सामाजिक सञ्जालमा नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति देशकै प्रधानमन्त्रीले देखाएको चासो, संवेदना र सम्मानले आफूलाई असाध्यै भावुक तुल्याएको बताएका छन्। यो स्नेहले आफ्नो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको उनको भनाई छ ।
उनले लेखेका छन्, ‘नयाँ पुस्ताको सिर्जना, अभिव्यक्ति र परिश्रमप्रति देशकै सम्माननीय प्रधानमन्त्रीज्यूले देखाउनु भएको चासो, संवेदना र सम्मानले मलाई असाध्यै भावुक तुल्याएको छ। ‘दुस्मन हेरेको हेर्यै’ गीतमा १० करोड भ्यूजको सफलता प्रति सार्वजनिक रूप बाटै बधाई र शुभकामना दिई हामीलाई दिनुभएको स्नेहले मेरो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको छ।
देशको प्रधानमन्त्रीज्यूले नेपाली गीत–सङ्गीतको मूल्य र सम्भावना चिन्नु भएको यो क्षण सम्पूर्ण सृजनशील पुस्ताका लागि गर्वको विषय पक्कै हो। उहाँको शब्द केवल एउटा बधाई मात्र थिएन, त्यो नयाँ सोच, नयाँ ऊर्जा र नयाँ आशाको सम्बोधन थियो।
म प्रधानमन्त्रीज्यूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु। यो सबै मेरो भगवान् रुपी दर्शकहरूको मायाले सम्भव भएको हो — धन्यवाद, मेरा दर्शक–श्रोताहरू । धन्यवाद प्रधानमन्त्रीज्यू, केपी बा !’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij