चितवन : उवासंघ चितवनको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र ओलीले सामूहिक लाभ र चितवनको समग्र आर्थिक विकासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संघलाई अझ सक्षम, पारदर्शी र सदस्य–मैत्री बनाउने लक्ष्यसहित आफ्नो उम्मेदवारी अघि सारेका हुन्।
ओलीले चितवनको व्यापार, उद्योग र सेवाक्षेत्रको प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने योजनाबारे जानकारी दिए। “संघ केवल व्यक्तिको होइन, सबै सदस्यको साझा संस्था हो,” उनले भने, “सबैलाई समेट्ने नीति र कार्यक्रममार्फत संघको गरिमा र विश्वसनीयता बढाउने मेरो प्राथमिकता हुनेछ।”
उनले निजी क्षेत्र र सरकारी निकायबीच समन्वय बढाई लगानीमैत्री वातावरण सिर्जना गर्ने, युवा उद्यमीलाई प्रोत्साहन गर्ने तथा साना तथा मझौला व्यवसायलाई सहयोग गर्ने योजनासमेत सार्वजनिक गरे।
संघका सदस्यहरूको हकहित संरक्षण, नीतिगत सुधारमा पहल र व्यावसायिक समस्या समाधानमा सक्रिय भूमिका निर्वाह गर्ने ओलीको भनाइ छ। उनले नेतृत्व पाएमा संघलाई चितवनको आर्थिक विकासको प्रमुख साझेदारका रूपमा स्थापित गर्ने दाबीसमेत गरे।