ढाका : बङ्गलादेशको एउटा अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा १० वर्षको जेल सजाय सुनाएको छ । यी मुद्दाहरू सरकारी आवास परियोजनामा जग्गा बाँडफाँटमा अनियमिततासँग सम्बन्धित छन् ।
ढाकाको विशेष न्यायाधीश अदालत–४ का न्यायाधीश रबिउल आलमले सोमबार यो फैसला सुनाएका हुन् । अदालतले दुवै मुद्दामा शेख हसिनालाई पाँच वर्षको जेल सजाय सुनाएको छ । यी मुद्दाहरू राजधानी ढाका नजिकैको पूर्वाचोल क्षेत्रमा चलिरहेको राजुक नयाँ सहर परियोजनासँग सम्बन्धित छ । त्यहाँ १० कट्ठाका दुई जग्गा अनूचित रूपमा बाँडफाँट गरिएको आरोप छ । अभियुक्तहरूले आफ्नो पदको दुरुपयोग गरेर, नियम उल्लङ्घन गरी जग्गा बाँडफाँट प्रक्रियामा हेरफेर गरेको अभियोजन पक्षले बताएका छन् । यो परियोजना राजधानी विकास प्राधिकरण (राजुक) अन्तर्गत पर्दछ ।
यी मुद्दामा हसिना बाहेक उनको परिवारका कयौँ सदस्यलाई पनि दोषी ठहराइएको छ । सोही क्रममा ट्युलिप सिद्दिकीलाई कुल चार वर्षको जेल सजाय सुनाइएको छ । त्यस्तै रदवान मुजीब सिद्दिकी र अजमिना सिद्दिकीलाई सात–सात वर्षको सजाय सुनाइएको छ । अदालतमा आत्मसमर्पण गरेका राजुक सदस्य मोहम्मद खुर्शीद आलमलाई दुई वर्षको जेल सजाय सुनाइएको छ । सबै अभियुक्तहरूलाई एक लाख टाका जरिवाना तिर्न आदेश दिइएको छ । जरिवाना तिर्न नसकेमा थप ६ महिना जेल सजाय हुनेछ ।
सरकारी जागिरमा आरक्षण कोटा तोकिएको विरोधको विद्यार्थी आन्दोलन उग्र बनेपछि गत वर्ष अगस्ट ५ मा हसिना बङ्गलादेशबाट भागेर भारत पुगेकी थिइन् । यस अघि अदालतले उनलाई भगौडा घोषित गरेको थियो । दुवै मुद्दा बङ्गलादेश भ्रष्टाचार विरोधी आयोगले दायर गरेको थियो । आयोगले जग्गा बाँडफाँटमा शक्तिको दुरुपयोग र स्थापित नियमहरूको उल्लङ्घन भएको बताएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij