काठमाडौं : काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक नियम उल्लंघन र अव्यवस्थित सवारी सञ्चालन नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत राइड सेयरिङ सेवामा संलग्न १७५ जना चालकलाई कारबाही गरिएको छ ।
उपत्यका ट्राफिक प्रहरीले कार्यालयका अनुसार उपत्यकाका विभिन्न व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा राइड सेयरिङ चालकले प्रचलित कानुन विपरीत सवारी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा परेका अधिकांश चालकले अनलाइन प्लेटफर्मको अनुमति बिना अफलाइन रूपमा सेवा सञ्चालन गरिरहेका थिए।
साथै, जथाभाबी स्थानमा यात्रु चढाउने र झार्ने (पिक एन्ड ड्रप), सवारीसाधनको प्राविधिक अवस्था कमजोर हुनु, आवश्यक कागजात नहुनु तथा ट्राफिक नियम उल्लंघन गर्ने गतिविधि पनि भेटिएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले राइड सेयरिङ सेवा सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिनु, सवारीसाधनको नियमित मर्मतसम्भार गर्नु, चालकले आवश्यक कागजात बोकेको हुनु तथा तोकिएका नियमको पालना गर्नु अनिवार्य रहेको बताए ।
विशेषगरी व्यस्त चोक, अस्पताल क्षेत्र, विद्यालय आसपास तथा मुख्य सडकमा जथाभाबी रोकिएर यात्रु ओसारपसार गर्दा यातायात अवरोध हुनुका साथै दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले यसप्रति कडाइ गरिएको प्रहरीले जनाएको छ।
सर्वसाधारणलाई पनि सुरक्षित र कानुनी रूपमा सञ्चालन भएका सेवामात्र प्रयोग गर्न आग्रह गरिएको छ। साथै, राइड सेयरिङ कम्पनीहरूलाई पनि आफ्ना चालकको अनुगमन कडाइ गर्न तथा नियम पालना सुनिश्चित गर्न आग्रह गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij