Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

अमेरिकी नाकाबन्दी : स्ट्रेट अफ होर्मुजमा थप अन्योल

अमेरिकी नाकाबन्दी : स्ट्रेट अफ होर्मुजमा थप अन्योल

तेहरान :  इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको समुद्री नाकाबन्दीको पहिलो दिन विश्व व्यापार र पारवहनमा ठुलो अन्योल छाएको छ। गत आइतबार इस्लामवादमा भएको शान्ति वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमा आउने र जाने जहाजहरूमाथि नाकाबन्दीको घोषणा गरेका थिए। 

यस कदमले  विश्वको महत्त्वपूर्ण तेल मार्ग स्ट्रेट अफ होर्मुजमा जहाजहरूको चापलाई निकै कम गरिदिएको छ। पानीजहाजसम्बन्धी तथ्याङ्कहरूका अनुसार नाकाबन्दीको पहिलो २४ घण्टामा निकै कम संख्यामा मात्र जहाजहरूले उक्त जलक्षेत्र पार गरेका छन्। 

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गर्नुअघि यस क्षेत्रबाट दैनिक १३० भन्दा बढी जहाज आवतजावत गर्ने गरेकोमा अहिले यो संख्या न्यून बिन्दुमा झरेको छ। अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै पहिलो दिन कुनै पनि व्यापारिक जहाजले अमेरिकी नाकाबन्दी तोड्न नसकेको दाबी गरेको छ। कमाण्डका अनुसार ६ वटा जहाजलाई अमेरिकी सेनाले निर्देशन दिएर पुनः इरानी बन्दरगाहतिरै फर्काइदिएको छ।

नाकाबन्दीका बाबजुद केही जहाजहरूले भने उक्त जलमार्ग प्रयोग गरेका छन्। इरानसँग सम्बन्ध भएका भनिएका तीनवटा ट्याङ्करहरूले स्ट्रेट अफ होर्मुज पार गरे पनि ती जहाजहरू इरानी बन्दरगाह जान लागेका थिएनन्। 

पानामाको झण्डा बोकेको पिस गल्फ नामक ट्याङ्कर संयुक्त अरब इमिरेट्स (यूएई) को हमरिया बन्दरगाहतिर जाँदै गरेको देखिएको छ। त्यस्तै, अमेरिकी प्रतिबन्धमा परेको रिच स्टारी नामक चिनियाँ स्वामित्वको जहाज नाकाबन्दी सुरु भएयता खाडी क्षेत्रबाट बाहिरिने पहिलो जहाज बनेको छ। २ लाख ५० हजार ब्यारेल मेथानोल बोकेको यो जहाजमा चिनियाँ चालक दलका सदस्यहरू रहेका छन्।

चीनले अमेरिकाको यस कदमलाई ‘खतरनाक र गैरजिम्मेवार’ भन्दै आलोचना गरेको छ। चिनियाँ विदेश मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी नाकाबन्दीले पश्चिम एसियाको तनावलाई थप चर्काउने चेतावनी दिएको छ। यद्यपि, आफ्ना जहाजहरू उक्त मार्गबाट हिँडिरहेका छन् वा छैनन् भन्नेबारे चीनले स्पष्ट पारेको छैन। 

यसैबिच, अमेरिकी सेनाले नाविकहरूका लागि जारी गरेको नोटमा मानवीय सहायता सामग्री बोकेका जहाजहरूलाई भने नाकाबन्दीमा छुट दिइने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij