काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणलाई नै बदनाम गराउने गरी भएको कमसल ट्रान्सफर्मर घोटाला काण्डको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।
२०८२ भदौ १२ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासमा ‘हेर्दाहेर्दैमा’ राखेर यो मुद्दा सुनुवाइ हुँदै आएको थियो । भदौ २४ मा जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएपछि न्यायाधीशद्वय मुसलमान र पोखरेलको इजलासले २०८२ माघ २५ मा मिसिल कागजात झिकाउने आदेश भएको थियो ।
मिसिल प्राप्त भएपछि सो मुद्दा सुनुवाइका लागि आज पेसी तोकिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७० फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले तत्कालीन समयमा दुई चरणमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले विशेष अदालतमा सुरुमा तत्कालीन कार्यकारी निर्देशक डा.जीवेन्द्र झा र तत्कालीन महाप्रबन्धकहरू रामेश्वर यादव, युगलकिशोर साहसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
दोस्रो चरणमा अख्तियारले विदेशी एजेन्ट र प्राधिकरणका अन्य कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दामा कमसल ट्रान्सफर्मर आयात गर्दै राज्यलाई ५० करोड बराबर नोक्सान पुर्याएको दाबीसहित उक्त रकम असुल हुनुपर्ने माग गरेको थियो ।
ट्रान्सफर्मर खरिदमा अनियमितता पाइएपछि अख्तियारले प्राधिकरणका कर्मचारी र सप्लायर्स कम्पनीका गरी ६० जनाविरुद्ध २०७० भदौ ९ र २८ गते चार थान मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो ।
उक्त मुद्दामा फैसला सुनाउँदै विशेष अदालतले २०७३ चैत १७ गते प्राधिकरणका उच्च नेतृत्व र विदेशीसहित २५ जनालाई दोषी ठहर गर्दै उनीहरूबाट ४६ करोड असुल्न आदेश गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरणको ‘बहुचर्चित ट्रान्सफर्मर घोटाला काण्ड’ मा प्राधिकरणका तत्कालीन दुई प्रमुख कार्यकारी निर्देशकसहित २० कर्मचारी दोषी ठहर भएका थिए ।
यसैगरी ट्रान्सफर्मर सप्लाइ गर्ने चिनियाँ र थाई कम्पनीका पाँच जना पनि दोषी ठहर भएका थिए । विशेषले दोषी ठहर भएकाहरूबाट ४६ करोड ३० लाख रुपैयाँ बढी जरिवानास्वरुप असुल्न भनेको थियो । भारत, चीन र थाइल्यान्डबाट ल्याइएका ट्रान्सफर्मर धमाधम पड्कन थालेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
को–को दोषी ठहर भएका थिए ?
विशेष अदालतले तत्कालीन कार्यकारी निर्देशक यादवलाई एक लाख ३५ हजार जरिवाना र ३ वर्ष ५ महिना कैद सजाय, अर्का कार्यकारी निर्देशक झालाई ८० हजार रुपैयाँ जरिवाना र १ वर्ष २ महिना कैद हुने फैसला सुनाएको थियो । न्यायाधीशहरू मोहनरमण भट्टराई, नरेन्द्रकुमार शिवाकोटी र महेशकुमार पुडासैनीको इजलासले बिगोसहित जरिवाना असुल गर्नुपर्ने फैसला गरेको थियो ।
विशेषले कार्यकारी निर्देशक यादवलाई पहिलो मुद्दामा १ वर्ष ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना, दोस्रो मुद्दामा ४ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना, तेस्रो मुद्दामा ७ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना तथा चौथो मुद्दामा १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
अर्का कार्यकारी निर्देशक झालाई पहिलो मुद्दामा ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना, दोस्रो मुद्दामा ४ महिना कैद र ४० हजार रुपैयाँ जरिवाना तथा तेस्रो मुद्दामा ४ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । अदालतले एउटा मुद्दामा भने झालाई सफाइ दिएको थियो ।
त्यस्तै, विशेषले युगलकिशोर साहलाई ९५ हजार रुपैयाँ जरिवाना र एक वर्ष ७ महिना कैद, कैलाशप्रसाद अटललाई ३० हजार रुपैयाँ जरिवाना र ८ महिना कैद तथा चिरञ्जीवी शर्मा पौडेललाई ४ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
ट्रान्सफर्मर काण्डमा दोषी हुने अन्य कर्मचारीमा मदनराज चापागाईं, प्रज्वल पाण्डे, सेन्धु यादव, भरतकुमार साह, सुरेन्द्र पनेरु, सुरेन्द्रराज जोशी, शेखरकुमार दत्त, मनोज बराल, विदुर पौडेल, सुरजप्रसाद साह, रामबिजुल मण्डल, विनोदकुमार स्वर्णकार, निमेशकुमार पोखरेल, अष्टरत्न शाक्य र त्रिपुरारीप्रसाद सिंह थिए ।
उनीहरूलाई विशेषले जनही ३ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । विशेष अदालतले ट्रान्सफर्मर सप्लाई गर्ने चिनियाँ र थाइ कम्पनीका पाँच जनालाई पनि दोषी ठहर गरेको थियो । विशेषले लि दाओ जिउलाई २१ करोड ४५ लाख २ हजार ३ सय ७४ रुपैयाँ जरिवाना, हु झेङ जिङलाई २ वर्ष कैद र हु जी क्युलाई एक वर्ष कैद फैसला सुनाएको थियो ।
त्यस्तै, अन्य विदेशीहरू ह्यु योङलाई एक वर्ष कैद र ५ करोड ८७ लाख ७९ हजार ६ सय तीन रुपैयाँ जरिवाना, ओउ याङलाई ५ करोड ८७ लाख ७९ हजार ६ सय ३ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । विशेषले थाइल्याण्डबाट ट्रान्सफर्मर सप्लाई गर्ने सप्लायर्स प्रेपाटललाई पनि दोषी ठहर गर्दै १२ करोड ९८ लाख ४१ हजार ९ सय ३३ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
विशेष अदालतले २१ कर्मचारीलाई भने सफाइ दिएको थियो । सफाइ पाउने प्राधिकरणका कर्मचारीमा टीकाराम बिसी, हरिशबहादुर पाल, सुरेशकुमार कटुवाल, सुशीलप्रसाद खनाल, नारायणप्रसाद चौधरी, सरोज श्रेष्ठ, महेशप्रसाद आचार्य, देव शर्मा पौडेल, कृष्णबहादुर थापा, कृष्णबहादुर केसी, भरत रुपाखेती, प्रमोद रिजाल, अर्जुनकुमार चौहान, हरिबहादुर गसी, भविविक्रम थापा, महेशकुमार कार्की, विनोदकुमार मानन्धर, डिल्लीरमण दाहाल थिए ।
त्यसैगरी नेपाली एजेन्ट राजनबहादुर भट्ट र अमर राजभण्डारीलाई पनि विशेषले सफाइ दिएको थियो । सप्लायर विदेशी जुई टान र नेपाली मणिनाथ ढकाललाई सफाइ दिने फैसला सुनाइएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij