चितवन : चितवनको बकुलहर रत्ननगर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि आफन्तले ‘चिकित्सकको लापरवाही’ भएको भन्दै विरोध जनाएका छन् । रत्ननगर नगरपालिका वडा नं. ४ की २७ वर्षिया अस्मिता तामाङ विकको बिहीबार राती मृत्यु भएको हो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. अंकुर पौडेलका अनुसार वैशाख ९ गते बुधबार अस्मिताको शल्यक्रिया मार्फत् शिशु जन्माईएको थियो । १० गते बिहिबार साँझसम्म आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको डा. पौडेलले जानकारी दिनुभयो । डा. पौडेलले भन्नुभयो “बिहीबार राती ९–१० बजेको समयमा अस्मितालाई एक्कासी गाह्रो भएपछि परीक्षण गर्दा (पल्मोनरी इन्बोलोजिम) फोक्सोको नलीमा कतैबाट आएर रगत जमेको भेटियो ।”
उक्त समस्या देखिएपछि अस्पतालमा फोक्सो र मुटु रोग विशेषज्ञ नभएका कारण र पर्याप्त आईसियु पनि नभएपछि भरतपुरस्थित चितवन मेडिकल (सिएमसी) पठाईएको डा. पौडेलको भनाई छ । बिरामीलाई सिएमसीमा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेको उहाँले जानकारी दिनुभयो । डा. पौडेलले भन्नुभयो “यहाँबाट पठाउने समयसम्म बिरामीमा श्वास थियो, बाँच्ने आश थियो ।”
यता अस्मिताका आफन्तले भने अस्पतालका चिकित्सक र नर्सहरुले लापरवाही गरेका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । घटनापछि बिरामीका आफन्तहरुले अस्पतालमा विरोध प्रदर्शन गरेका थिए । अस्मिताको यो दोस्रो सन्तान हो । यस अघि छोरा रहेको र अहिले छोरीको जन्म भएको बताईन्छ । नवजात शिशु छोरीको स्वास्थ्य भने राम्रो रहेको चिकित्सकले बताएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij