काठमाडौँ : अमेरिकाले जर्मनीबाट आफ्नो ५ हजार सेना फिर्ता गर्ने तयारी गरेको छ।इरान युद्धबारे जर्मन चान्सलर फ्रेडरिक मर्जको अभिव्यक्तिबाट रिसाएका ट्रम्पले जर्मनीबाट सेना फिर्ता गर्न लागेका हुन्।अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले शुक्रबार जर्मनीबाट सेना फिर्ता बोलाउने निर्णय गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले स्रोतको हवाला दिँदै लेखेको छ।
यही साताको सुरूवातमा जर्मन चान्सलर मर्जले इरानसँगको वार्तामा अमेरिका अपमानित भइरहेको र वासिङ्टनको युद्ध अन्त्य गर्ने रणनीतिमाथि प्रश्न गरेका थिए।
जर्मनीको पछिल्लो अभिव्यक्ति अनुचित र असहयोगी रहेको ती अधिकारीले बताएका छन्।‘राष्ट्रपतिले यस्ता प्रतिकूल टिप्पणीप्रति उचित प्रतिक्रिया दिनुभएको हो,’ ती अधिकारीको भनाइ उद्धृत गरेर रोयटर्सले लेखेको छ।
पेन्टागनका अनुसार सैनिक फिर्ता लैजाने प्रक्रिया आगामी ६ देखि १२ महिनाभित्र पूरा हुने अपेक्षा गरिएको छ।हाल जर्मनीमा करिब ३५ हजार अमेरिकी सक्रिय सैनिक तैनाथ छन्, जुन युरोपमा सबैभन्दा ठूलो संख्या हो।अधिकारीका अनुसार यो निर्णयले युरोपमा अमेरिकी सैनिक उपस्थितिलाई सन् २०२२ अघि, अर्थात् रुसले युक्रेनमाथि आक्रमण गर्नुअघि रहेको स्तरमा फर्काउनेछ।साथै, ट्रम्प प्रशासनले युरोपेली देशहरूले आफ्नै सुरक्षाको जिम्मेवारी बढी लिनुपर्ने नीति अघि सारेको सन्दर्भमा पनि यसलाई जोडिएको छ।
रोयटर्सले गत साता मात्र पेन्टागनको आन्तरिक इमेल सार्वजनिक गरेको थियो, जसमा इरान युद्धमा अमेरिकालाई पर्याप्त सहयोग नगर्ने नेटो सहयोगीहरूलाई दण्डित गर्ने विकल्पहरूबारे चर्चा गरिएको थियो। तीमध्ये स्पेनलाई नेटोबाट निलम्बन गर्ने र बेलायतको फकल्यान्ड टापु दाबीप्रति अमेरिकी धारणा पुनरवलोकन गर्ने प्रस्ताव समेत थिए।
ट्रम्पले इटाली र स्पेनबाट पनि अमेरिकी सैनिक फिर्ता बोलाउने सम्भावना रहेको संकेत दिएका छन्।
स्पेनले इरानमाथि आक्रमणका लागि आफ्नो सैन्य आधार र हवाई क्षेत्र प्रयोग गर्न नदिने अडान लिएको थियो। ट्रम्पले त्यतिबेलै स्पेनलाई पूर्ण व्यापार नाकाबन्दी गर्ने धम्की समेत दिएका थिए।
यस्तै, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग पनि ट्रम्पको सम्बन्ध चिसिएको छ।ट्रम्पले मेलोनीमा साहसको कमी भएको र अमेरिकालाई निराश बनाएको आरोप लगाएका थिए।इरान युद्धका क्रममा नेटो सहयोगीहरूले हर्मुज जलमार्ग खोल्न नौसैनिक सहयोग नपठाएको भन्दै पनि ट्रम्पले असन्तुष्टि जनाएका थिए।
जर्मन पक्षले भने अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गर्नु अघि आफूहरूलाई परामर्श नगरेको गुनासो गरेको बताएको छ। जर्मनीले अमेरिकी सैन्य आधार प्रयोग गर्न दिनुका साथै हवाई उडान अनुमति दिएर सहयोग गरेको दाबी पनि गरेको छ।
पूर्व पेन्टागन अधिकारी इमरान बायौमीले यो निर्णयले अमेरिका र युरोपबीचको दूरी अझ बढाउने चेतावनी दिएका छन्।‘युरोपेली नेताहरूले अब आफ्नै रक्षा खर्च बढाउन थप जोड दिनेछन्, किनकि उनीहरूले वाशिङ्टनलाई झन् अविश्वसनीय ठान्न सक्छन्,’ उनले भने।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij