काठमाडौंः अमेरिकाले होर्मुज जलमार्गबाट जहाज पार गराउँदा इरानलाई पैसा नदिन चेतावनी दिएको छ।अमेरिकाले जहाज सञ्चालक कम्पनीहरूलाई होर्मुजबाट सुरक्षित रूपमा पार गराउन भन्दै इरानलाई कुनै पनि प्रकारको भुक्तानी नगर्न चेतावनी दिएको हो। इरानलाई पैसा बुझाए सम्बन्धित कम्पनीहरूले अमेरिकी प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिइएको छ।
अमेरिकाको ‘अफिस अफ फरेन एसेट्स कन्ट्रोल’ (ओएफएसी)ले मे १ मा जारी गरेको अलर्टमा इरानलाई गरिने कुनै पनि भुक्तानी गैरकानुनी मानिनसक्ने उल्लेख गरेको हो।
विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास व्यापार हुने रणनीतिक होर्मुज जलमार्गको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव जारी छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले होर्मुज हुँदै जाने जहाजहरूलाई धम्की दिन थालेको र सामान्य समुद्री यातायातमा अवरोध सिर्जना गरेको बताइएको छ। त्यसपछि इरानले केही जहाजहरूलाई आफ्नो तटीय क्षेत्र नजिकको वैकल्पिक मार्ग प्रयोग गर्न दिँदै शुल्क लिन थालेको थियो। अमेरिकाले यही शुल्क असुलीलाई लक्षित गर्दै नयाँ चेतावनी जारी गरेको हो।
ओएफएसीका अनुसार इरानलाई गरिने भुक्तानी नगदमा मात्र सीमित हुँदैन। क्रिप्टोकरेन्सी, अनौपचारिक विनिमय प्रणाली, सामान, दान वा इरानी दूतावासमार्फत गरिने भुक्तानी पनि प्रतिबन्धको दायरामा पर्न सक्छन्।
इरानी कदमको जवाफमा अमेरिकाले अप्रिल १३ देखि आफ्नै नौसैनिक नाकाबन्दी सुरु गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार नाकाबन्दीपछि ४५ वटा व्यावसायिक जहाजलाई फिर्ता पठाइएको छ।
अमेरिकाको उद्देश्य इरानको मुख्य आम्दानी स्रोत तेल निर्यातमा दबाब सिर्जना गर्नु रहेको बताइएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि पठाएको पछिल्लो प्रस्ताव पनि अस्वीकार गरेका छन्। ह्वाइट हाउसमा बोल्दै ट्रम्पले इरान सम्झौता गर्न चाहिरहेको भएपनि आफू त्यसबाट सन्तुष्ट नभएको बताएका छन्।
इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार तेहरानले पाकिस्तानमार्फत नयाँ प्रस्ताव पठाएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij