Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

विराटनगर विमानस्थलमा स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना नियन्त्रणमा

विराटनगर विमानस्थलमा स्रोत नखुलेको करिब २७ लाखसहित दुई जना नियन्त्रणमा

मोरङ :  विराटनगर विमानस्थलमा प्रहरीले सुरक्षा जाँचका क्रममा दुई दिनको अवधिमा स्रोत नखुलेको करिब २७ लाख रुपैयाँसहित दुईजना यात्रुलाई नियन्त्रणमा लिएको छ।
विराटनगरबाट जहाजमार्फत काठमाडौँ जान लागेका फरक–फरक एयरलाइन्सका यात्रुहरू झोलाभित्र अवैध नगद लुकाएको अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरूमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्।
प्रहरीले पहिलो सफलता शुक्रबार बेलुका करिब ८ बजे प्राप्त गरेको थियो। बुद्ध एयरको उडानबाट काठमाडौँ प्रस्थान गर्न लागेका सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १८ का ३५ वर्षीय दिलीप तामाङलाई सुरक्षाकर्मीले शंका लागेर चेकजाँच गरेका थिए। खानतलासीका क्रममा उनको ब्यागबाट स्रोत खुलाउन नसकेको ११ लाख नेपाली रुपैयाँ बरामद भएपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको थियो।
यो घटनाको भोलिपल्ट अर्थात् वैशाख १९ गते शनिबार दिउँसो ३:३५ बजेतिर पुनः अर्का एक यात्रु अवैध नगदसहित समातिए। श्री एयरलाइन्सको जहाजमार्फत काठमाडौँ जान लागेका भारतीय नागरिक ३६ वर्षीय मोहिदिल अलि पक्राउ परेका हुन्। भारतको माल्दा जिल्ला सुजा गञ्जका बासिन्दा अलिको झोला चेकजाँच गर्दा प्रहरीले १५ लाख ९८ हजार रुपैयाँ फेला पारेको थियो।
प्रहरीले दुवै जनाबाट जम्मा २६ लाख ९८ हजार रुपैयाँ बरामद गरेको छ। पक्राउ परेका तामाङ र अलि दुवैलाई बरामद गरिएको रकमसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij