प्युठान : साढे तीन वर्षअघि भएको एक वृद्धाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी बुहारीलाई पक्राउ गरेको छ। स्वर्गद्वारी नगरपालिका वडा नं. ६ डाँडाखर्कमा भएको उक्त हत्याकाण्डको अनुसन्धानका क्रममा प्रहरीले ३२ वर्षीया चेती सुनारलाई नियन्त्रणमा लिएको हो।
२०७९ साल मंसिर १ गते बिहान साढे ६ बजेको समयमा स्थानीय भुपलाल घर्तीको बारीमा ६३ वर्षीया धनीकुमारी सुनार मृत अवस्थामा फेला परेकी थिइन् । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा शव भेटिएपछि प्रहरीले यसलाई कर्तव्य ज्यान मुद्दाका रूपमा लिएर अनुसन्धान अघि बढाएको थियो।
लामो समयसम्म प्रतिवादी नखुलेर पेण्डिङमा रहेको यस मुद्दामा सूक्ष्म अनुसन्धान गर्दा मृतककी सौतेनी कान्छी बुहारी चेती सुनारको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। प्युठान जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले उनलाई वैशाख २३ गते साँझ ४ बजे पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार पक्राउ परेकी सुनारलाई अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जानकारी दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij