Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

परवानीपुर पन्छी अनुसन्धान केन्द्रमा बर्डफ्लु, करिब ५० लाख क्षति

परवानीपुर पन्छी अनुसन्धान केन्द्रमा बर्डफ्लु, करिब ५० लाख क्षति

वीरगञ्ज : बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु पुष्टि भएपछि करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । गत चैतको अन्तिम साता देखापरेको संक्रमणपछि फार्ममा रहेका सबै प्रजातिका पन्छी तथा दाना नष्ट गर्नुपरेको कार्यालयले जनाएको छ ।

सूचना अधिकारी खमबहादुर प्रजा का अनुसार टर्की जातका पन्छीमा सुरुमा बर्डफ्लु देखिएपछि क्रमशः अन्य प्रजातिमा समेत संक्रमण फैलिएको थियो । संक्रमण नियन्त्रणका लागि फार्ममा पालिएका करिब २ हजार कुखुराका चल्ला, १ हजार २०० गिरीराज कुखुरा, ३३ वटा तित्रा, ४७ वटा सेतो तथा कालो टर्की र करिब ४५० वटा बट्टाई नष्ट गरिएको हो ।

त्यसैगरी एल–वान, एल–टु र एल–थ्री दानासमेत ठूलो मात्रामा नष्ट गरिएको छ । कार्यालयका अनुसार एल–वान दाना ८३५ किलो, एल–टु दाना ४५५ किलो तथा एल–थ्री दाना १ हजार ८३५ किलो नष्ट गरिएको छ ।

संक्रमण देखिएपछि फार्म क्षेत्रमा चुना छर्किने, मल पुर्ने तथा आगोको ताप प्रयोग गरी पूर्ण रूपमा निर्मलीकरण गर्ने काम भइरहेको छ ।

हाल पुनः सञ्चालनका लागि तयारी अघि बढाइएको छ । राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमले पोखरा र नेपालगञ्जस्थित कार्यालयबाट आवश्यक पन्छी तथा अण्डा ल्याएर फार्म पुनः सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट