भरतपुर : वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल को आवास (क्वाटर) मा नियमविपरीत बस्दै आएका कर्मचारी तथा व्यक्तिहरूले अस्पताल प्रशासनको निर्देशन अटेरी गरेका छन्। अस्पतालले सूचना जारी गर्दै तत्काल आवास खाली गर्न आग्रह गरे पनि हालसम्म कसैले पनि क्वाटर नछोडेको जनाएको छ।
अस्पताल प्रशासनले वैशाख १६ गते सूचना प्रकाशित गर्दै नियमविपरीत रूपमा बसोबास गरिरहेकाहरूलाई आवास खाली गर्न निर्देशन दिएको थियो। अस्पतालको आवास व्यवस्थापन हेर्दै आउनुभएकी स्टोर प्रमुख शिला रेग्मी अधिकारीका अनुसार सूचना जारी भएयता पनि कुनै प्रगति भएको छैन।
अस्पतालले “अस्पताल आवास निर्देशिका–२०८२” अनुसार अस्पताल परिसरको कुनै पनि गेटदेखि कर्मचारीको स्थायी घरसम्मको दूरी २५ किलोमिटरभन्दा बढी भएमा मात्रै आवास सुविधा पाउने व्यवस्था रहेको जनाएको छ। सो मापदण्डभन्दा कम दूरीमा घर भएका कर्मचारीले आवास प्रयोग गर्न नपाउने स्पष्ट व्यवस्था छ।
तर, अस्पताल प्रशासनका अनुसार जागिर छाडेका, जिम्मेवारीबाट हटेका, अवकाशप्राप्त कर्मचारीदेखि २५ किलोमिटरभित्र घर भएका कर्मचारीसम्मले क्वाटर ओगटेर बसेका छन्। कतिपयले शक्तिको पहुँच प्रयोग गर्दै नियमले तोकेकोभन्दा बढी आवाससमेत प्रयोग गरिरहेको स्रोतको दाबी छ। यस्ता व्यक्तिमध्ये केही स्थानीय राजनीतिक दलसँग आबद्ध नेतासमेत रहेको बताइएको छ।
अस्पतालमा सहायक स्तर, अधिकृत स्तर तथा चिकित्सकका लागि छुट्टाछुट्टै आवासको व्यवस्था छ। सहायक स्तरका कर्मचारीका लागि १० वटा भवनमा ६० परिवार बस्न मिल्ने क्षमता रहेको छ भने अधिकृत स्तरका कर्मचारीका लागि ६ वटा भवनमा १८ परिवार बस्न सक्ने व्यवस्था छ। यस्तै एकल परिवार र दुई परिवार बस्न मिल्ने छुट्टाछुट्टै घरहरू पनि उपलब्ध छन्।
चार परिवार बस्न मिल्ने ६ वटा भवनमध्ये दुई वटा भवनमा चिनियाँ प्राविधिक तथा चार वटा भवनमा अस्पतालका अधिकृत स्तरका कर्मचारी तथा चिकित्सक बस्दै आएका छन्। चिनियाँ सहयोगमा निर्माण गरिएका दुई भवनमा १८ परिवार बसोबास गर्दै आएका छन् भने सहायक स्तरका कर्मचारीका लागि निर्माण गरिएका ३६ कोठामा १८ परिवार बसिरहेको अस्पतालले जनाएको छ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले अस्पताल ऐन तथा निर्देशिकाअनुसार मात्रै आवास सुविधा उपयोग गर्नुपर्ने भन्दै विभागमार्फत आवश्यक ताकेता भइरहेको जानकारी दिनुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij