काठमाडौं : काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक बसमा अब यात्रुको लगेज सुरक्षित बनाउन नयाँ प्रणाली लागू हुने भएको छ। यात्रुको सामान हराउने, साटिने तथा चोरी हुने समस्या न्यूनीकरण गर्ने उद्देश्यसहित लगेज ट्याग प्रणाली लागू गर्न लागिएको हो। यस सम्बन्धमा शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच औपचारिक सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार आगामी जेठ १५ गतेदेखि लामो दूरीका सार्वजनिक बस सेवामा यात्रुको प्रत्येक लगेजमा विशेष ट्याग लगाइने व्यवस्था सुरु हुनेछ।
नयाँ प्रणालीअनुसार यात्रुले प्राप्त गर्ने ट्याग नम्बर र बसमा राखिएको सामानको ट्याग नम्बर मिलाएर मात्र गन्तव्यमा पुग्दा लगेज बुझाइनेछ। यसले यात्रुको सामान सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन सहयोग पुग्ने विश्वास गरिएको छ। ट्राफिक प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा लामो दूरीका यात्रामा झोला हराउने, सामान साटिने तथा अनियमित गतिविधिका गुनासो बढ्दै गएपछि यस्तो प्रणाली आवश्यक भएको हो। विशेषगरी चाडपर्व, भीडभाड र रात्रीकालीन यात्राका बेला यस्ता समस्या बढी देखिने गरेका थिए।
राष्ट्रिय यातायात व्यवसायी महासंघले यो व्यवस्था हवाई यात्रामा जस्तै आधुनिक र व्यवस्थित सेवा प्रवाहतर्फको महत्वपूर्ण कदम भएको जनाएको छ। व्यवसायीहरूले यो प्रणाली लागू भएपछि यात्रुहरूको विश्वास बढ्ने र सेवा गुणस्तरमा सुधार आउने अपेक्षा गरेका छन्। नयाँ व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न ट्राफिक प्रहरी र यातायात व्यवसायीहरूले संयुक्त अनुगमन तथा निगरानी गर्ने पनि जनाइएको छ। यसले लामो दूरीका यात्रालाई अझ सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउने विश्वास लिइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij