Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

बलिउड अभिनेता रणवीर सिंहमाथि चलचित्र उद्योगमा प्रतिबन्ध

बलिउड अभिनेता रणवीर सिंहमाथि चलचित्र उद्योगमा प्रतिबन्ध

 मुम्बई : बलिउड अभिनेता रणवीर सिंहमाथि फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले प्रतिबन्ध लगाएको छ। अभिनेता तथा निर्देशक फरहान अख्तरको उजुरीका आधारमा सोमबार साँझ महासंघले रणवीरविरुद्ध यो कदम चालेको हो। 

रणवीरले आफ्नो पछिल्लो चलचित्र ‘धुरन्धर’ को व्यावसायिक सफलतापछि अचानक प्रतीक्षित चलचित्र ‘डन ३’ बाट बाहिरिने निर्णय लिएका थिए। चलचित्रको प्रि-प्रोडक्सनको काम सुरु भइसकेपछि रणवीरले धोका दिँदा निर्माण पक्षलाई ४५ करोड भारु नोक्सान भएको भन्दै फरहानले महासंघमा उजुरी दिएका थिए।

महासंघका अध्यक्ष वीएन तिवारीका अनुसार यस विषयमा कुराकानी गर्न रणवीरलाई अप्रिल २२, अप्रिल ३० र मे १३ गरी तीनपटक रिमाइन्डर पठाइएको थियो तर उनले कुनै सकारात्मक प्रतिक्रिया दिएनन्। उल्टै रणवीरले यो विवाद सम्झौताको सर्तसँग जोडिएकाले महासंघ यसका लागि सही मञ्च नभएको र कानुनी उपचार खोज्नुपर्ने जवाफ पठाएका थिए। 

त्यसपछि महासंघले रणवीरविरुद्ध असहयोगको निर्देश जारी गरेको हो। फरहान अख्तरले सन् २०२३ मा रणवीरको साथमा ‘डन ३’ को घोषणा गरेका थिए। सन् २००६ को ‘डन’ र २०११ को ‘डन २’ पछि यो फ्रेन्चाइजको तेस्रो चलचित्र बन्ने तयारीमा थियो। 

सुरुमा कियारा आडवाणीलाई अनुबन्ध गरिए पनि गर्भावस्थाका कारण उनले छाडेपछि कृति सेननलाई लिने चर्चा थियो। फरहानले यसै चलचित्रका लागि आफ्नो अर्को प्रोजेक्ट ‘जी ले जरा’ समेत स्थगित गरेका थिए।

चलचित्र ढिलाइ भएपछि रणवीर ‘धुरन्धर’ मा व्यस्त भएका थिए। सन् २०२५ बाट यसको छायांकन सुरु हुने भनिए पनि रणवीरले अचानक चलचित्र छाडिदिए। निर्माण पक्षले रणवीरले पटकथामा हस्तक्षेप गरेको र गालीगलौज तथा हिंसात्मक दृश्य राख्न दबाब दिएको आरोप लगाएको छ। 

रणवीरले चलचित्र छाडेर साइनिङ अमाउन्ट फिर्ता गर्ने बताए पनि निर्माताहरूले प्रि-प्रोडक्सन र ढिलाइका कारण ठूलो रकम खर्चिसकेका थिए। विवाद मिलाउन आमिर खानले पनि प्रयास गरेका थिए तर कुरा मिल्न सकेन। यता रणवीर सिंहका प्रवक्ताले भने अभिनेताले फिल्म उद्योग र ‘डन’ फ्रेन्चाइजको सम्मान गर्ने भएकाले सोचविचार गरेरै मौनता साधेको बताएका छन्। आपसी सम्बन्ध र कामको कुरा मर्यादित ढंगले सुल्झाउनुपर्ने भन्दै उनले हल्लाको पछि नलागी आफ्नो ध्यान नयाँ प्रोजेक्टमा केन्द्रित गरेको दाबी गरेका छन्।

सन् १९५६ मा स्थापित एफडब्लूआईसीई भारतीय चलचित्र उद्योगका कामदार र कलाकारहरूको हित रक्षा गर्ने सबैभन्दा ठुलो संस्था हो। यस मातहत ३४ वटा विभिन्न एसोसिएसनका करिब ४ देखि ५ लाख सदस्य आबद्ध छन्। चलचित्र क्षेत्रका ९० प्रतिशत प्राविधिक, जुनियर आर्टिस्ट र क्रु मेम्बर यसैमा रहेकाले महासंघले असहयोग गर्दा रणवीरका नयाँ प्रोजेक्टहरू ठप्प हुन सक्छन्। 

यस प्रतिबन्धका कारण रणवीरको अभिनय रहने ‘किङ’ (विशेष भूमिका), निर्देशक आदित्य धरको आगामी चलचित्र, कियारा आडवाणीसँगको नयाँ प्रोजेक्ट र संजय लीला भन्सालीको ‘बैजु बावरा’ को छायांकन प्रभावित हुने देखिएको छ। अब अन्य निर्माताले रणवीरसँग चलचित्र सुरु गर्नुअघि महासंघबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्ने बाध्यता सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट