Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

फिर्के खोलामा रहेको लिटिल स्टेप स्कुलको भवन नभत्काउन सर्वोच्चको अन्तरिम आदेश

फिर्के खोलामा रहेको लिटिल स्टेप स्कुलको भवन नभत्काउन सर्वोच्चको अन्तरिम आदेश

पोखरा : पोखराको फिर्के खोला स्थित खोलाघरमै निर्माण गरिएको लिटिल स्टेप स्कुलको संरचना नचलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । स्कूलले आफ्नो स्वीकृत नक्साअनुसार निर्माण गरिएको भवन भत्काउन लागेको भन्दै सर्वोच्चमा रिट दिएको थियो । निवेदन माथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्काल भवनमा कुनै बाधा अवरोध नगर्न आदेश दिएको हो । न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(ख) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गर्दै विपक्षीहरूलाई सूचना दिन आदेश गरेको छ ।

स्कूलका प्राचार्य डा. कैलाश तिमिल्सिनाले बन्दोबस्ती मिलाउन केही समय चाहिने भन्दै रिट दिएका थिए । निवेदनमा आफूहरूले अतिक्रमित संरचना हटाउने कार्यको विरोध नगरे पनि आफ्नो दर्ता स्रेस्ताभित्रको स्वीकृत नक्साअनुसार निर्माण गरिएको विद्यालय भवनलाई जानकारी नै नदिई एकपक्षीय रूपमा रेखाङ्कन गरेर भत्काउन खोजिएको दाबी गरिएको छ । ‘निवेदकले अतिक्रमित संरचना हटाउने कार्यको विरोध नगरेको, तर आफ्नो दर्ता स्रेस्ताभित्रको स्वीकृत नक्सा बमोजिम निर्माण गरेको संरचनालाई जानकारी नदिई एकपक्षीय ढंगबाट रेखाङ्कन गरी विद्यालयको भवन संरचनामा डोजर चलाई भत्काउन लागेको हुँदा रोकी पाउँ भन्ने बेहोराको माग दाबी रहेको पाइयो,’ अदालतको आदेशमा उल्लेख छ ।

थप छलफलका दुवै पक्षलाई जेठ २५ गते बोलाएको छ । त्यसअघि अदालतले विपक्षीहरूलाई कारण देखाऊ आदेशसमेत जारी गरेको छ । ‘निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्नू,’ आदेशमा उल्लेख छ । पोखरा महानगरले खोलाघर क्लियर गर्ने अभियान आइतबारदेखि निरन्तर चलाइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट