काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङस्थित रिजाल एन्ड कम्पनीका नाममा ६० रोपनी जग्गा छुट दिने निर्णयमा भ्रष्टाचार भएको आरोप लगाउँदै उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा पेस गरेको हो।
अख्तियारले प्रतिवादीहरूबाट ७३ करोड ४९ लाख रुपैयाँ बिगो असुल गर्न माग गरेको छ । मुद्दामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन संसदीय व्यवस्था मन्त्री डा. मीनेन्द्र रिजाल र तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। त्यस्तै, तत्कालीन मुख्यसचिव स्वर्गीय माधव घिमिरेकी छोरी कमला घिमिरेलाई पनि प्रतिवादी कायम गरिएको छ।
यसैगरी तत्कालीन सचिव छविराज पन्त, सहसचिव रमेशचन्द्र अधिकारी तथा उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा र ध्रुव सापकोटालाई पनि प्रतिवादी बनाइएको छ। शाखा अधिकृत बलराम निरौला पनि मुद्दामा प्रतिवादी छन्।
त्यस्तै, भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सीताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्कीसहित मालपोत कार्यालयका विभिन्न कर्मचारीलाई प्रतिवादी बनाइएको छ।
जग्गा छुट दिने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा कुल ९७ जनालाई प्रतिवादी कायम गर्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस गरेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij