Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

देश र लोकतन्त्र जोगाउने जिम्मेवारी कम्युनिस्टहरूकै काँधमा : माधव कुमार नेपाल

देश र लोकतन्त्र जोगाउने जिम्मेवारी कम्युनिस्टहरूकै काँधमा : माधव कुमार नेपाल

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले देशको राष्ट्रियता, लोकतन्त्रको रक्षा र अग्रगामी रूपान्तरणको मुख्य जिम्मेवारी कम्युनिस्टहरूकै काँधमा रहेको बताएका छन्।

उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको एकता घोषणा सभालाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले छरिएर रहेका सम्पूर्ण क्रान्तिकारी वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरे।

एकता घोषणा सभामा बोल्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनमा एकता, विभाजन, विद्रोह र समायोजनका अनेकौँ शृङ्खलाहरू इतिहासदेखि नै चल्दै आएको उल्लेख गरे। कुनै पनि पूर्वाग्रह वा आशङ्का नराखी निःस्वार्थ भावनाका साथ कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘विगतमा चिरण पुन लगायतका कमरेडहरू पहिलो चरणमा विद्रोह गरेर आउनुभयो, आज तपाईंहरू दोस्रो चरणमा आउनुभएको छ। अब आउनेहरूले विद्रोह नै गर्नुपर्दैन, सरक्कै आए पुग्ने वातावरण बन्दैछ ।’ नेताहरूमा धेरै महत्त्वाकाङ्क्षा हुन नहुने बताउँदै उनले मान्छेको क्षमता र खुबीको मूल्याङ्कन जनता र पार्टीले गर्ने भएकाले निःस्वार्थ भावले आन्दोलनमा समर्पित हुन आग्रह गरे।

नेपालले आगामी जेठभित्र स्थानीय तह र सँगसँगै प्रदेश तहको निर्वाचन हुने सम्भावना देखिएको बताउँदै सम्पूर्ण पार्टी पङ्क्तिलाई तत्काल चुनावी तयारीमा लाग्न निर्देशन दिए। उनले भने, ‘सरकार र निर्वाचन आयोग तयारीमा जुटिसकेका छन्, अन्य दलहरू पनि परिचालित भइसकेका छन्। हामीले पनि प्रत्येक जिल्ला, पालिका र वडा तहमा पार्टीको वास्तविक अवस्थाको समीक्षा गर्दै बलियो उपस्थिति बनाउनुपर्छ।’

उनले पार्टीको महाधिवेशन आगामी मङ्सिरमा गर्ने सोच बनाइएको भए पनि चुनावको सम्भावना नजिकिएकाले महाधिवेशनलाई चुनावपछिका लागि सारेर अहिले सङ्गठन सुदृढीकरण र चुनावी मोर्चामा लाग्नुपर्ने बताए।

पुराना कम्युनिस्ट नेताहरूलाई एकताको आह्वान सम्बोधनका क्रममा नेता नेपालले नारायणमान बिजुक्छे, मोहनविक्रम सिंह, मोहन वैद्य लगायतका पुराना र अग्रज वामपन्थी नेताहरूलाई समेत वर्तमान राजनीतिक परिस्थितिको गम्भीरतालाई मनन गर्दै बृहत् एकता र ध्रुवीकरणमा आउन अपिल गरे।


समाज रूपान्तरण र परिवर्तनको संवाहक कम्युनिस्ट शक्तिहरू नै भएको दाबी गर्दै उनले राष्ट्रिय अभियानमा जुटी जनताको जीवनस्तर बदल्न र लोकतन्त्रको रक्षा गर्न सम्पूर्ण वामपन्थीहरू एक हुनुको विकल्प नरहेको स्पष्ट पारे।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट