काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री कार्यालय यातना गृहजस्तो भइरहेको सबैले अनुभूति गर्न थालेको टिप्पणी गरेका छन्।
सभामुख डोलप्रसाद अर्याललाई भेटेर फर्कदै गर्दा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आङ्देम्बेले भने–‘विचौलियाको बिगबिगी भइरहेको छ । कर्मचारीहरूलाई कार्यस्थलबाटै उठाएँदा सर्वत्र आतंक छ । प्रधानमन्त्री कार्यालय त झन् यातना गृहजस्तो भएको अनुभूति सबैले गर्न लागिराखेको बेलामा यो सबैको निकास संसद बैठकबाटै खोज्नुपर्छ।’
सुनसरी–मरीन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्काका विषयमा दुई कर्मचारीलाई नियन्त्रणमा लिइएको थियो। त्यसतर्फ लक्ष्य गर्दै आङ्देम्बेले प्रधानमन्त्री कार्यालय यातना गृहजस्तो भइरहेको अनुभूति सबैले गर्न थालेको उल्लेख गरेका हुन्।
उनले न्यायलयलगायत विषयमा गम्भीर विषय आएकोले संसद बैठक आह्वान हुनुपर्ने पनि बताए। लामो समयसम्म संसद बैठक आह्वान नगर्ने र बैठक धकल्दै लैजाने प्रवृत्तिले निकास नदिने पनि उनको भनाइ छ।
कांग्रेसको आह्वानमा सोमबार सिंहदरबारस्थित संसदीय दल बैठकमा प्रतिपक्षी दलहरूको बैठक बसेको थियो। उक्त बैठकले तत्काल प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आह्वान गर्नुपर्ने निष्कर्ष निकालेको थियो। आङ्देम्बेले उक्त निष्कर्ष मंगलबार सभामुख अर्याललाई भेटेर सुनाएका हुन्।
सोमबारको कांग्रेस संसदीय दलको बैठकले पत्रकार धरपकड लगायत सकारका विवादित सबै विषयमा संसदीय विशेष छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको थियो । जसका लागि जतिसक्दो छिटो संसद् बैठक बोलाउनुपर्ने माग कांग्रेसको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij