बैतडी : बैतडीमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सु.प.प्र ०१००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ करिब पौनै ६ बजे दसरथचन्द नगरपालिका–४ शाहिलेक बजार नजिक छेलामा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दीपक कुमार रायका अनुसार दुर्घटनामा परी दसरथचन्द नगरपालिका–६ निवासी ३५ वर्षीय वीरेन्द्रबहादुर चन्दको मृत्यु भएको छ। दुर्घटनामा अन्य १० जना यात्रु सामान्य घाइते भएका छन्।
घाइते हुनेमा दसरथचन्द नगरपालिका–४ की २७ वर्षीया लक्ष्मी ऐरी, ८ वर्षीय हेमविक्रम जोशी, ६० वर्षीया पूर्णदेवी जोशी, २२ वर्षीया पूजा कार्की, दसरथचन्द नगरपालिका–२ देहीमाण्डौँकी २० वर्षीया लालिता लावड र ३२ वर्षीया जानकी लावड रहेका छन्। यस्तै दसरथचन्द नगरपालिका–८ का विजय थापा, वडा नं. ६ की ३० वर्षीया लक्ष्मी साउद, वडा नं. ५ का ५२ वर्षीय कर्णदेव भट्ट तथा पाटन नगरपालिका–९ खोडपेका ३५ वर्षीय कबिराज भट्ट घाइते भएका छन्।
घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस सडकबाट करिब ३० मिटर तल खसेको थियो। दुर्घटनाका बेला बसमा चालकसहित १२ जना सवार थिए।
दुर्घटनापछि चालक पाटन नगरपालिका–८ निवासी ३७ वर्षीय केशव महरालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij