काठमाडौँ : जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति दिएको छ।
न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार लामिछानेविरुद्धको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा सङ्गठित अपराधतर्फको अभियोग कायम नरहने गरी अभियोगपत्र संशोधन गर्न आदेश दिएको हो।
अदालतको आदेशमा ठगीसम्बन्धी अभियोग भने यथावत् रहने उल्लेख गरिएको छ। आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम सङ्गठित अपराधतर्फको अभियोग हटाई अभियोगपत्र संशोधन गर्न अनुमति प्रदान गरिएको हो।
अदालतले आफ्नो आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ (२) (क) अनुसार सम्पत्ति शुद्धीकरणलगायत केही विशेष प्रकृतिका मुद्दाबाहेक अन्य मुद्दामा अभियोग फिर्ता लिन वा संशोधन गर्न कानुनी रोकावट नदेखिएको उल्लेख गरेको छ।
आदेशमा पीडितमुखी न्याय, अभियोजनको स्वायत्तता, सार्वजनिक हित तथा पीडितको अधिकारबीच सन्तुलन कायम गर्न अदालतले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। साथै, पीडितलाई क्षतिपूर्तिसहितको न्याय दिलाउन लामो फौजदारी प्रक्रिया तथा कठोर अभियोगहरू बाधक बन्न नहुने अदालतको ठहर छ।
सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले अभियोगपत्र संशोधनका लागि निवेदन दिएको थियो। यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन अनुमति प्रदान गरिसकेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij