Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

बाढीको महासंकट आउनुअघि मधेशमा सशस्त्र प्रहरीको युद्धस्तरीय उद्धार अभ्यास, हजारौं नागरिकको ज्यान जोगाउने तयारी !

बाढीको महासंकट आउनुअघि मधेशमा सशस्त्र प्रहरीको युद्धस्तरीय उद्धार अभ्यास, हजारौं नागरिकको ज्यान जोगाउने तयारी !

रौतहट :  वर्षायाम सुरु भएसँगै मधेश प्रदेशमा बाढी, डुबान र नदीजन्य विपद्को जोखिम बढिरहेको बेला सशस्त्र प्रहरी बल, नेपालले बागमती नदीमा गरेको कृत्रिम उद्धार अभ्यास (सिमुलेसन एक्सरसाइज) ले सम्भावित विपद्प्रति राज्य संयन्त्रको तयारीलाई उजागर गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीको आयोजना तथा मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयसँगको समन्वयमा सञ्चालन गरिएको “सिमुलेसन एक्सरसाइज–साहस” ले बाढीको समयमा उद्धार कसरी गरिन्छ भन्ने वास्तविक दृश्य प्रस्तुत गर्दै उपस्थित जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीलाई समेत झस्काएको छ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथर र सर्लाहीको बागमती नगरपालिका–११ स्थित बागमती नदी क्षेत्रमा सम्पन्न उक्त अभ्यासले वर्षेनी दोहोरिने बाढीको त्रासदीलाई सम्झाएको मात्र होइन, समयमै तयारी भए मानवीय क्षति न्यूनीकरण गर्न सकिने सन्देश पनि दिएको छ।

असार ५ गते बिहान ९ः५० बजे सुरु भएको अभ्यास ११ः०५ बजे सम्पन्न भएको थियो। कार्यक्रममा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै विभिन्न स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, सशस्त्र प्रहरी बलका उच्च अधिकारी, जनप्रतिनिधि, स्थानीयवासी तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

727497197_1532724418336570_881329441669145294_n.jpg

undefined

मधेशको बाढी जोखिम : हरेक वर्ष दोहोरिने पीडा

मधेश प्रदेश नेपालकै सबैभन्दा बढी बाढी र डुबान प्रभावित क्षेत्रमध्ये एक हो। चुरे क्षेत्रबाट बग्ने नदीहरू वर्षायाममा उग्र बन्दै तराईका बस्तीहरूमा पसेपछि हजारौं परिवार विस्थापित हुने गरेका छन्। विशेष गरी बागमती, लालबकैया, झाँझ, कमला, बलान, रातु, जमुनी, मरिन लगायतका नदीले हरेक वर्ष जनधनको ठूलो क्षति पुर्याउने गरेका छन्।

विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण अत्यधिक वर्षा हुने क्रम बढ्दै गएको छ। कम समयमै ठूलो वर्षा हुँदा नदीहरूमा अचानक बहाव बढ्ने र ‘फ्ल्यास फ्लड’ को जोखिम उच्च रहने गरेको छ। यस्तो अवस्थामा उद्धार टोलीको दक्षता, पूर्वतयारी र समन्वय अत्यन्त महत्वपूर्ण हुने गर्दछ।

यही यथार्थलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले सञ्चालन गरेको “साहस” अभ्यासलाई केवल औपचारिक कार्यक्रम नभई वास्तविक विपद् व्यवस्थापनको तयारीका रूपमा हेरिएको छ।

बागमतीमा सिर्जना गरियो कृत्रिम विपद्

अभ्यासका क्रममा बागमती नदीमा अचानक आएको बाढीका कारण केही नागरिक नदीको बीच भागमा फसेको काल्पनिक अवस्था तयार गरिएको थियो। नदीको तीव्र बहाव, जोखिमपूर्ण परिस्थिति र उद्धारको चुनौतीपूर्ण वातावरणलाई वास्तविक जस्तै बनाइएको थियो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहट तथा नम्बर १० गण सर्लाहीका विपद् व्यवस्थापन तालिम प्राप्त विशेष टोलीले उद्धार अभियान सञ्चालन गरेका थिए। टोलीले मोटरबोट, लाइफ ज्याकेट, रेस्क्यु रोप, फ्लोटिङ उपकरण, स्ट्रेचर तथा आधुनिक उद्धार सामग्रीको प्रयोग गर्दै नदीमा फसेका व्यक्तिहरूलाई सुरक्षित किनारमा ल्याउने अभ्यास प्रदर्शन गरेको थियो।

उद्धार टोलीले नदीको तीव्र बहावबीच कसरी प्रवेश गर्ने, फसेकालाई कसरी सुरक्षित बनाउने, प्राथमिक उपचार कसरी दिने तथा उद्धारपछिको व्यवस्थापन कसरी गर्ने भन्ने सम्पूर्ण प्रक्रिया प्रदर्शन गरेको थियो।

कार्यक्रम अवलोकन गरिरहेका स्थानीयवासीले नदीको बहावबीच गरिएको उद्धार अभ्यासलाई निकै रोमाञ्चक र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए।

सशस्त्र प्रहरीको ‘फ्रन्टलाइन’ भूमिका

नेपालमा प्राकृतिक विपद् व्यवस्थापनका क्रममा सशस्त्र प्रहरी बल अग्रपंक्तिमा खटिने सुरक्षा निकायका रूपमा परिचित छ। बाढी, डुबान, पहिरो, आगलागी, भूकम्प वा अन्य विपद्का समयमा सबैभन्दा पहिले घटनास्थलमा पुग्ने निकायमध्ये सशस्त्र प्रहरी अग्रस्थानमा रहँदै आएको छ।

गत वर्षहरूमा मधेश प्रदेशका विभिन्न जिल्लामा आएको बाढीका बेला सयौं मानिसको उद्धार, हजारौं नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा राहत वितरणमा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको थियो।विपद् व्यवस्थापन विज्ञहरूका अनुसार उद्धारका लागि आवश्यक उपकरण, तालिमप्राप्त जनशक्ति र स्थानीय तहसँगको समन्वय प्रभावकारी भएमा ठूलो मानवीय क्षति रोक्न सकिन्छ। “साहस” अभ्यासले यही सन्देश दिएको देखिन्छ।

727814806_3444239865741527_5244633043400767220_n.jpg

undefined

मन्त्री महतोको प्रशंसा : ‘ज्यानको पर्वाह नगरी सेवा’

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले सशस्त्र प्रहरी बलको भूमिका प्रशंसनीय रहेको बताए।उनले सीमा सुरक्षा, आन्तरिक सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारीसँगै विपद्का कठिन परिस्थितिमा नागरिकको जीवन बचाउने कार्यमा सशस्त्र प्रहरी बल अग्रपंक्तिमा खटिने गरेको उल्लेख गरे।उनले बाढी, डुबान, पहिरो, आगलागी लगायतका विपद्का समयमा आफ्नो ज्यानको समेत पर्वाह नगरी उद्धार तथा राहत कार्यमा खटिने सशस्त्र प्रहरीका जवानहरूको साहस, समर्पण र सेवाभाव अनुकरणीय रहेको बताए। यस्ता कार्यले राज्यप्रति नागरिकको विश्वास अझ बलियो बनाउने उनको भनाइ थियो।

मन्त्री महतोले आगामी दिनमा विपद् व्यवस्थापन क्षमतालाई अझ सुदृढ बनाउन प्रदेश सरकार आवश्यक सहयोग गर्न तयार रहेको समेत बताए।

स्थानीय तहलाई पनि चेतावनी

विपद् व्यवस्थापन केवल सुरक्षा निकायको जिम्मेवारी मात्र नभई स्थानीय सरकार, समुदाय र नागरिकको साझा दायित्व भएको सरोकारवालाहरूले बताएका छन्।

अभ्यासका क्रममा सहभागी जनप्रतिनिधिहरूले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सचेत गराउने, सुरक्षित स्थानको पहिचान गर्ने, उद्धार सामग्री तयारी अवस्थामा राख्ने तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए।विशेषज्ञहरूका अनुसार बाढी आउनुभन्दा अगाडि गरिने तयारी नै विपद् न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय हो। पूर्वसूचना, सचेतना र उद्धार क्षमताको अभावमा सामान्य बाढी पनि ठूलो मानवीय क्षतिको कारण बन्न सक्छ।

जलवायु परिवर्तनसँगै बढ्दो चुनौती

नेपालमा पछिल्ला वर्षहरूमा प्राकृतिक विपद्का घटनाहरूको स्वरूप परिवर्तन हुँदै गएको छ। मौसमविद्हरूका अनुसार जलवायु परिवर्तनका कारण वर्षाको ढाँचा अनियमित बन्दै गएको छ। केही घण्टामै अत्यधिक वर्षा हुने र नदीमा अचानक बहाव बढ्ने घटनाहरू बढिरहेका छन्।मधेश प्रदेशमा चुरे क्षेत्रको वन विनाश, नदी अतिक्रमण, अव्यवस्थित बस्ती विस्तार तथा कमजोर पूर्वाधारले समेत बाढीको जोखिम बढाएको छ।यस्तो अवस्थामा उद्धार क्षमता अभिवृद्धि, समुदायस्तरको तयारी र सुरक्षा निकायको दक्षता अझ महत्वपूर्ण बन्दै गएको छ।

बागमती नदीमा गरिएको “सिमुलेसन एक्सरसाइज–साहस” केवल प्रदर्शनमात्र थिएन। यसले सम्भावित विपद्को सामना गर्न राज्य संयन्त्र कति तयार छ भन्ने सन्देश दिएको छ। नदीमा फसेका नागरिकलाई सुरक्षित रूपमा उद्धार गर्ने कला, आधुनिक उपकरणको प्रयोग, सुरक्षाकर्मीको तत्परता र विभिन्न निकायबीचको समन्वयले वास्तविक विपद्का बेला ठूलो जनधनको क्षति रोक्न सकिने संकेत गरेको छ।वर्षायामको जोखिमपूर्ण समय सुरु भइसकेको अवस्थामा बागमती किनारमा देखिएको यो दृश्यले एउटा महत्वपूर्ण प्रश्न पनि उठाएको छ— यदि भोलि वास्तविक बाढी आयो भने, के सबै स्थानीय तह, समुदाय र सरोकारवाला निकाय यत्तिकै तयार छन् ?यही प्रश्नको उत्तर खोज्दै “साहस” अभ्यासले मधेशलाई सचेत गराएको छ। बाढीको संकट ढोकामा आइपुग्नुअघि गरिएको यो तयारीले हजारौं नागरिकको जीवन बचाउने आधार तयार पार्न सक्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट