Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

कारागारमा बनेका मुढा र गलैँचाको माग घट्यो, बन्दीको आम्दानी आधाभन्दा कम

कारागारमा बनेका मुढा र गलैँचाको माग घट्यो, बन्दीको आम्दानी आधाभन्दा कम

चितवन : एक समय कारागारमा कैदीबन्दीले उत्पादन गरेका मुढा, गलैँचा, झोला लगायतका सामग्रीको बजारमा राम्रो माग थियो। ती सामग्री बिक्रीबाट कैदीबन्दीले आफ्नो व्यक्तिगत खर्च धान्नुका साथै परिवारलाई समेत आर्थिक सहयोग गर्दै आएका थिए। तर पछिल्ला केही वर्षयता बजारमा माग घट्दै जाँदा उनीहरूको आम्दानीसँगै रोजगारीका अवसर पनि खुम्चिएका छन्।

१३ वर्षदेखि चितवन कारागारमा बन्दी जीवन बिताइरहेका एक बन्दी (परिवर्तित नाम विकास प्रर्जा) का अनुसार पहिलेको तुलनामा अहिले बाँसका मुढाको माग उल्लेख्य रूपमा घटेको छ। उनका अनुसार पहिले सीमित कारागारमा मात्रै यस्ता उत्पादन हुने गरेकामा अहिले धेरै कारागारमा सीपमूलक तालिम र उत्पादन सुरु भएपछि बजार प्रतिस्पर्धा बढेको छ। साथै प्लास्टिकका कुर्सी र अन्य आधुनिक सामग्रीको प्रयोग बढ्दै जाँदा परम्परागत बाँसका मुढाको माग पनि घटेको उनी बताउँछन्।

उनका अनुसार पहिले मासिक करिब ५०० वटा मुढा उत्पादन हुने गरेकामा अहिले त्यो संख्या ३०० हाराहारीमा सीमित भएको छ। उत्पादन घटेसँगै यस क्षेत्रमा काम गर्ने बन्दीको संख्या पनि २०० बाट घटेर करिब ७५ मा झरेको छ। कारागारभित्र सञ्चालन भइरहेको एक उत्पादन समूहमा पहिले ४०–४५ जना बन्दी कार्यरत रहेकामा अहिले १८ जना मात्रै बाँकी छन्। “चार्डपर्वको समयमा केही माग बढ्ला भन्ने आशा गरेका छौँ,” उनले भने।

मुढाको माग घटेपछि केही बन्दी गलैँचा बुन्ने काममा लागेका छन्। तर गलैँचाको बजार पनि पहिलेजस्तो नभएको अर्को बन्दी (परिवर्तित नाम रामु प्रर्जा) बताउँछन्। उनका अनुसार गलैँचा बनाउन धेरै समय र मेहनत लाग्ने भए पनि ग्राहक कम हुँदा काम गर्ने उत्साह घट्दै गएको छ। “पहिले दिनभरि काम गर्दा समय बितेको थाहा हुँदैनथ्यो, अहिले फुर्सद धेरै हुँदा मानसिक रूपमा पनि असर पर्न थालेको छ,” उनले भने।

हाल गलैँचा उत्पादनमा करिब ६५ जना बन्दी आबद्ध छन्। पहिले मासिक १५ देखि १८ वटा गलैँचा उत्पादन हुने गरे पनि अहिले त्यो संख्या पनि घटेको छ। बन्दीहरूले उत्पादनको आकारअनुसार पारिश्रमिक पाउने व्यवस्था छ।

कारागार कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाले बजारको माग घटेसँगै कैदीबन्दीमा केही निराशा देखिएको स्वीकार गरे। उनका अनुसार राम्रो व्यापार हुँदा कैदीबन्दीले मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका थिए। अहिले भने अधिकांशले मुस्किलले पाँच हजार रुपैयाँ हाराहारी मात्रै कमाउन सकेका छन्।

उनले कारागारमा उत्पादन भएका सामग्री काठमाडौंसहित छिमेकी जिल्ला र स्थानीय बजारमा बिक्री हुने गरेको जानकारी दिए। बजार विस्तार र माग वृद्धि गर्न सकिए कैदीबन्दीको आयआर्जनसँगै उनीहरूको सीप र पुनःस्थापनामा समेत सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।

हाल चितवन कारागारमा ४० जना महिला र ६८० जना पुरुष कैदीबन्दी रहेका छन्। कारागारको क्षमता भने महिलातर्फ ३० जना र पुरुषतर्फ ५७० जनाको रहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij