भरतपुर : भरतपुर महानगरपालिका–११, चितवनस्थित गणेशधाममा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। इनर ह्विल क्लब अफ भरतपुर, इनर ह्विल क्लब अफ भरतपुर सिटी र इनर ह्विल क्लब अफ भरतपुर डिभाइनको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
कार्यक्रममा डिष्ट्रिक्ट ३५० की वातावरण तथा सामाजिक सेवा संयोजक बिमला अर्याल अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा तीनवटै क्लबका अध्यक्ष, गणेशधाम समितिका निवर्तमान अध्यक्ष, संस्थाका संरक्षक तथा समिति पदाधिकारी, कार्यक्रम संयोजक, तीनवटै क्लबका पूर्वअध्यक्ष, सञ्चालक समिति तथा पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो।
वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वच्छ, स्वस्थ र सुन्दर वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। गणेशधाम परिसरमा गरिएको वृक्षारोपणले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सौन्दर्य बढाउन सहयोग पुग्ने आयोजकको विश्वास छ।
कार्यक्रमले इनर ह्विलको मूल भावना ‘स्वार्थभन्दा माथि सेवा’ लाई आत्मसात् गर्दै सामूहिक सेवा, एकता र सहकार्यको सन्देश दिएको आयोजकहरूले बताएका छन्। वातावरण संरक्षण केवल व्यक्तिगत नभई सामूहिक जिम्मेवारी भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा पनि जोड दिइएको थियो।
कार्यक्रममा इनर ह्विल क्लब अफ भरतपुर डिभाइनकी आइडब्लुएन नारायणदेवी श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। इनर ह्विल क्लब अफ भरतपुर सिटीकी आइडब्लुएन लक्ष्मी केसीले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको समापन इनर ह्विल क्लब अफ भरतपुरकी आइडब्लुएन अञ्जु शर्मा दाहालले गर्नुभएको थियो।

वृक्षारोपण कार्यक्रममा सहभागी भई समय, साथ, सहयोग र उत्साहपूर्वक सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावप्रति आयोजक तीनवटै क्लबले धन्यवाद तथा आभार व्यक्त गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij