काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचाअनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताएका छन् ।
नागरिकका सुझाव र गुनासाहरूलाई पार्टीले नजिकबाट सुनिरहेको उल्लेख गर्दै उनले सरकार बाटोबाट विचलित भए राजनीतिक दलका तर्फबाट नियन्त्रण गर्ने र पुनः सही मार्गमा ल्याउने क्षमता आफूहरूसँग सुरक्षित रहेको स्पष्ट पारेका हुन् ।
सरकार अहिले नै असफल नभएको र त्यस्तो अवस्था आउन नदिन आफूहरू सचेत रहेको सभापति लामिछानेले बताए। सरकार सञ्चालनको अवस्थालाई हवाई उडानसँग तुलना गर्दै उनले कहिलेकाहीँ देखिने प्राविधिक समस्या वा बाह्य कारणबाट उत्पन्न हुने ‘टर्बुलेन्स’बाट आत्तिन नहुने धारणा राखे।
सभापति लामिछानेले भने- 'सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ । काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने राजनीतिक पार्टी हामीसँग छ । आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्छ । तर अहिले त्यो अवस्था आएको छैन, आउन पनि दिँदैनौँ । सरकार आफ्नो लिकबाट बाहिरियो भने पुनः लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी अघि बढ्छौँ ।'
सरकार आफ्नो ‘लिक’बाट बाहिरिए पुनः सही बाटोमा ल्याएर यात्रालाई सहज बनाउने दिशामा अघि बढ्ने उनको भनाइ थियो। साथै लामिछानेले वर्तमान सरकार नागरिककै सरकार भएको दाबी गर्दै इतिहासले सुम्पिएको जिम्मेवारी जनतासँगको सहकार्यमा सफल बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij