काठमाडौं :अभिनेता समिर भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘१२ गाउँ २’को डबिङको काम तीव्र गतिमा अघि बढिरहेको छ। काठमाडौंस्थित ग्लोबल रिल मोसन पिक्चर्समा आइतबार अभिनेता समिर भट्टले चलचित्रका लागि स्वराङ्कन गरेका हुन्।
निर्देशक तथा अभिनेता बिराज भट्टले समिरसँगै अनुपविक्रम शाही, कालु रानालगायतका कलाकारको डबिङ गराइरहेका छन्। पोस्ट प्रोडक्सनको काम निर्धारित तालिकाअनुसार अघि बढिरहेको निर्माण पक्षले जनाएको छ।
दशैंको अवसर पारेर असोज ३० गते अर्थात् फूलपातीको अघिल्लो दिनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको ‘१२ गाउँ २’ सन् २०२४ मा प्रदर्शन भएको सफल चलचित्र ‘१२ गाउँ’को सिक्वेल हो। बिराज भट्टको निर्देशनमा बनेको पहिलो श्रृंखलामार्फत समिर भट्ट नेपाली चलचित्र क्षेत्रमा उदाउँदो स्टारका रूपमा स्थापित भएका थिए।
पहिलो भागको सफलतासँगै समिरको बढ्दो लोकप्रियताका कारण ‘१२ गाउँ २’लाई प्रतीक्षित चलचित्रका रूपमा हेरिएको छ। निर्माण पक्षका अनुसार सिक्वेललाई पहिलो भागको तुलनामा अझ ठूलो क्यानभास, नयाँ कथा, सशक्त प्रस्तुति र उच्च प्राविधिक गुणस्तरसहित दर्शकमाझ ल्याउने तयारी भइरहेको छ।
चलचित्रमा एक्सनसँगै भावना र पारिवारिक सम्बन्धलाई समेत प्राथमिकतामा राखिएको निर्देशक बिराज भट्टले बताएका छन्। निर्माण पक्षका अनुसार चलचित्रको डबिङ सकिएपछि गीत, ट्रेलर तथा अन्य प्रचार सामग्री क्रमशः सार्वजनिक गरिनेछ।
‘१२ गाउँ २’मा बिराज भट्ट र समिर भट्टसँगै अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटनी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहित सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत कलाकारको अभिनय रहेको छ।
सन्तोष सरकारको कथा तथा पटकथा रहेको चलचित्रमा महेश पौडेलको छायांकन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरण र गीता गुरप्पाको ब्याकग्राउन्ड म्युजिक तथा सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको छ।
दशैंको माहोललाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको ‘१२ गाउँ २’ले पहिलो श्रृंखलाको सफलतालाई निरन्तरता दिने अपेक्षा निर्माण पक्षले गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij