Logo

Nov 01 2026 | २०८३, कार्तिक १६गते

मतदाता सूचीबाट नाम हटाएको भन्दै भारतमा आक्रोश, दिल्लीमा विपक्षीको विशाल प्रदर्शन

मतदाता सूचीबाट नाम हटाएको भन्दै भारतमा आक्रोश, दिल्लीमा विपक्षीको विशाल प्रदर्शन

काठमाडौं : भारतको राजधानी नयाँदिल्लीमा प्रमुख विपक्षी दलहरूले मुख्य निर्वाचन आयुक्तको राजीनामा र निर्वाचन प्रणालीमा सुधारको माग गर्दै विशाल महार्‍याली आयोजना गरेका छन् ।आइतबार आयोजित र्‍यालीमा सहभागी हुन बिहानैदेखि दशौँ हजार मानिस रामलीला मैदानमा भेला भएका छन् ।भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा आयोजना गरिएको महार्‍यालीमा गठबन्धन ‘इन्डिया’का विभिन्न दलका नेताहरू सहभागी भएका छन् ।

जेनजी नेतृत्वको दबाब समूह ‘कक्रोच जनता पार्टी’ (सीजेपी)ले पनि र्‍यालीलाई समर्थन गरेको छ ।भारतमा मतदाता सूची पुनरावलोकनका क्रममा मस्यौदा मतदाता सूचीबाट १३ करोड नाम हटाइएको विषयलाई लिएर विपक्षी दलहरूले विरोध प्रदर्शन गर्दै आएका छन् । यही विवादका बीच विपक्षी दलहरूले पछिल्लो महार्‍याली आयोजना गरेका हुन् ।भारतीय निर्वाचन आयोगले मृतक तथा आफ्नो दर्ता भएको ठेगाना छाडेर अन्यत्र बसाइँ सरेका व्यक्तिको नाम हटाएर मतदाता सूची अद्यावधिक गर्न पुनरावलोकन प्रक्रिया अघि बढाइएको बताउँदै आएको छ ।

तर विपक्षी दलहरूले ‘विशेष सघन पुनरावलोकन’ (एसआईआर) नाम दिइएको उक्त प्रक्रियाबाट योग्य मतदाताको नामसमेत हटाइएको आरोप लगाएका छन् ।यसले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा)लाई निर्वाचनमा फाइदा पुग्ने उनीहरूको दाबी छ ।

विपक्षी दलहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार र भाजपामाथि ‘भोट चोरी’ अर्थात् मत चोरी गरेको आरोप लगाएका छन् । तर भाजपा र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गर्दै आएका छन्।गत सेप्टेम्बरमा द इन्डियन एक्सप्रेस पत्रिकाले गरेको अनुसन्धानात्मक रिपोर्ट सार्वजनिक भएपछि विवाद थप चर्किएको थियो ।

रिपोर्टमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले अन्य दुई निर्वाचन आयुक्तको सहमतिबिना मतदाता सूची पुनरावलोकनसम्बन्धी महत्त्वपूर्ण निर्णय गरेको उल्लेख गरिएको थियो । ती दुई आयुक्तले एक दर्जनभन्दा बढी पटक निर्णयप्रति असहमति जनाएका थिए ।यद्यपि निर्वाचन आयोगले कुनै पनि संस्थामा विचार र मतभिन्नता सामान्य हुने तथा त्यसले संस्थाको कामकारबाहीमा असर नपार्ने प्रतिक्रिया दिएको थियो ।मतदाता सूची पुनरावलोकन प्रक्रियालाई लिएर विपक्षी दल, सीजेपी र विद्यार्थी समूहहरूले दिल्लीसहित भारतका विभिन्न सहरमा प्रदर्शन गर्दै आएका छन् ।

शनिबार विपक्षी नेताहरूले कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको दिल्लीस्थित निवासमा मुख्य निर्वाचन आयुक्त कुमारविरुद्ध सांकेतिक महाभियोग प्रक्रिया सञ्चालन गरेका थिए ।पूर्वलोकसभा सभामुख मीरा कुमारको अध्यक्षतामा भएको उक्त सांकेतिक संसदीय बैठकमा विपक्षी नेताहरूले निर्वाचन प्रमुखले चुनावमा धाँधली गर्न षड्यन्त्र गरेको र जानाजानी १३ करोड मतदाताको नाम सूचीबाट हटाएको आरोप लगाएका थिए ।राज्यसभामा विपक्षी दलका नेतासमेत रहेका खड्गेले कुमारलाई पदबाट हटाउनुपर्ने मागसहित सांकेतिक प्रस्ताव प्रस्तुत गरेका थिए । उनले निर्वाचन प्रक्रियालाई कमजोर बनाएको र भारतको राष्ट्र तथा संविधानविरुद्धको काम गरेको आरोप लगाएका थिए ।

मतदाता सूची पुनरावलोकनका क्रममा नाम हटाइएका केही व्यक्तिहरू पनि उक्त कार्यक्रममा सहभागी भएका थिए ।यद्यपि उक्त प्रक्रिया पूर्णतः सांकेतिक थियो र यसको कुनै कानुनी मान्यता थिएन । भारतीय कानुनअनुसार मुख्य निर्वाचन आयुक्तलाई औपचारिक संसदीय प्रक्रियामार्फत मात्रै पदबाट हटाउन सकिन्छ ।प्रधानमन्त्री मोदीले सांकेतिक महाभियोग प्रक्रियाबारे प्रत्यक्ष टिप्पणी गरेका छैनन् । तर शुक्रबार आयोजित एक सार्वजनिक सभामा उनले केही मानिसले आफूलाई बदनाम गर्न देशभर अराजकता फैलाउन खोजेको आरोप लगाएका थिए ।

शनिबार अर्को सभालाई सम्बोधन गर्दै उनले विपक्षी दलहरूले आफ्नो जिम्मेवारी त्यागेको र संविधानको मर्यादा तथा सीमालाई उल्लङ्घन गरेको आरोप लगाए ।यसअघि गत महिना कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीको नेतृत्वमा दशौँ हजार प्रदर्शनकारीले दिल्लीको कोनोट प्लेसबाट सर्वोच्च अदालतसम्म र्‍याली निकालेका थिए । उनीहरूले मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका थिए ।कांग्रेसका एक नेताले बीबीसीसँग कुरा गर्दै अघिल्लो र्‍याली केवल ‘ट्रेलर’ भएको र आइतबारको महारैली त्यसको तुलनामा कैयौँ गुणा ठूलो हुने बताएका थिए ।

र्‍यालीअघि राहुल गान्धीले भारतीय लोकतन्त्रको विनाशविरुद्ध आफूहरूको आन्दोलन भएको बताएका थिए । उनले राजनीतिक तथा गैरराजनीतिक सबै व्यक्ति र विपक्षी दलहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका थिए ।‘लाखौँ मानिसको मताधिकार खोसिँदै गएको छ । यसले ठूलो आक्रोश र भावनात्मक पीडा सिर्जना गरेको छ,’ उनले भनेका थिए ।उनले आफूहरू संविधान, भारतको अवधारणा र प्रत्येक भारतीयको अभिव्यक्ति रहेको मतदानको अधिकार रक्षाका लागि एकजुट भएको बताएका थिए ।

दिल्ली प्रहरीले आइतबारको महार्‍यालीका लागि अनुमति दिएको छ । तर त्यसका लागि विभिन्न सर्त राखिएका छन् ।भारतीय सञ्चारमाध्यमका रिपोर्टअनुसार र्‍याली अपराह्न ५ बजेसम्म सक्नुपर्ने, कार्यक्रमस्थलमा सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने र तोकिएको प्रदर्शनस्थलबाहिर जुलुस निकाल्न नपाइने व्यवस्था गरिएको छ ।महार्‍यालीलाई लिएर दिल्लीको पुरानो तथा व्यस्त बजारमध्ये एक चाँदनी चोकका व्यापारीहरूबीच पनि मतभिन्नता देखिएको छ ।

रामलीला मैदानबाट एक किलोमिटरभन्दा कम दूरीमा रहेको उक्त बजारका केही व्यापारीले दीपावलीको एक साताअघि प्रदर्शन हुँदा व्यापार प्रभावित हुने बताएका छन् ।तर अर्का समूहका व्यापारीले राहुल गान्धीको र्‍यालीलाई समर्थन गरेका छन् । उनीहरूले बिहीबार भाजपाले बजारमा निकालेको जुलुसले नै चाडपर्वको समयमा व्यापारमा बढी असर पारेको आरोप लगाएका छन् ।महार्‍यालीलाई ध्यानमा राख्दै दिल्लीका विभिन्न स्थानमा हजारौँ प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ । विशेषगरी रामलीला मैदान पुग्ने सडक तथा आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विपक्षी दलहरूले प्रदर्शनमा सहभागी हुन दिल्ली आउन चाहने मानिसलाई सरकारले रोक्न खोजेको आरोप लगाएका छन् । राहुल गान्धीले पनि ठूलो संख्यामा प्रदर्शनमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेका छन् ।उनले सामाजिक सञ्जाल एक्समा लेख्दै प्रहरी र लाठीको डर नमानी प्रदर्शनमा आउन आग्रह गरेका थिए । भाजपाले आफूहरूविरुद्ध कुनै कारबाही गर्ने आँट नगर्ने उनको दाबी थियो ।उनको यस्तो अभिव्यक्ति राजधानी दिल्लीमा पछिल्ला प्रदर्शनमाथि प्रहरीले गरेको व्यवहारलाई लिएर चिन्ता बढिरहेका बेला आएको हो ।

गत अक्टोबर १० मा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध सीजेपीले आह्वान गरेको प्रदर्शन रोक्न दिल्लीमा हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यस क्रममा सहरका ठूला क्षेत्र बन्द गरिएका थिए ।प्रहरीले सीजेपीका सबै शीर्ष नेताहरूलाई नियन्त्रणमा लिएको थियो भने प्रदर्शनकारीलाई तितरबितर पार्ने क्रममा कुटपिट गर्नुका साथै सडकमा घिसारिएको आरोप लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट