Logo

Nov 01 2026 | २०८३, कार्तिक १६गते

अब सडकमा ट्राफिक प्रहरी उभ्याएर होइन, स्मार्ट सिस्टमबाट यातायात व्यवस्थापन गर्नुपर्छ : सभापति गजुरेल

अब सडकमा ट्राफिक प्रहरी उभ्याएर होइन, स्मार्ट सिस्टमबाट यातायात व्यवस्थापन गर्नुपर्छ : सभापति गजुरेल

काठमाडौँ : पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडकमा ट्राफिक प्रहरी उभ्याएर यातायात व्यवस्थापन गर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिमा आधारित स्मार्ट प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार राजधानीमा आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले ट्राफिक प्रहरीको भूमिका नियम उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउने र जनचेतना अभिवृद्धि गर्ने हुनुपर्ने बताए ।

उनका अनुसार उपत्यकाका विभिन्न स्थानमा ट्राफिक बत्ती थप जडान गर्ने र बिग्रिएका बत्ती मर्मत गरी सञ्चालनमा ल्याउने काम भइरहेको छ । विगतमा जडान गरिएका तर सञ्चालनमा नरहेका ट्राफिक बत्तीलाई सुधार गरेर प्रयोगमा ल्याउन थालिएको उनले जानकारी दिए ।यातायात व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन ट्राफिक कन्ट्रोल रुम तथा प्रविधिमा आधारित प्रणालीमा थप लगानी गरिने गजुरेलले बताए ।

आकाशे पुलको आवश्यकताबारे उठेको प्रश्नमा उनले स्मार्ट ट्राफिक लाइट पूर्ण रूपमा कार्यान्वयन गर्न सके सडक पार गर्न आकाशे पुलमाथिको निर्भरता कम हुने बताए । विकसित देशहरूमा समेत आकाशे पुलको प्रयोग तुलनात्मक रूपमा कम रहेको उल्लेख गर्दै उनले अहिलेको प्राथमिकता इन्टेलिजेन्ट ट्रान्सपोर्टेसन सिस्टम अर्थात् स्मार्ट यातायात प्रणालीमा लगानी गर्नु रहेको स्पष्ट पारे ।

गजुरेलले भने, ‘अब सडकमा ट्राफिक प्रहरी उभिनु भएन, सबै स्मार्ट ट्राफिक लाइटको माध्यमबाट स्मार्ट ट्राफिक सिस्टमको माध्यमबाट यातायात व्यवस्थापन हुनुप¥यो । ट्राफिक प्रहरीको काम कसैले नियम मिच्यो, पालना गरेन भने जनचेतनाको कार्यक्रमहरू फैलाउने र उहाँहरूलाई चाहिँ कारबाहीको दायराभित्र ल्याउने, त्यो हाम्रो चाहिँ उद्देश्य छ ।’

उनले आकाशे पुल निर्माण नगर्ने सरकारको नीति नरहेको पनि स्पष्ट पारे । आवश्यक स्थानमा पुल निर्माण जारी रहने र केही स्थानमा निर्माण भइरहेको जानकारी दिँदै थप आवश्यक ठाउँमा पनि पुल बनाइने उनले बताए ।ट्राफिक प्रहरीलाई ड्युटीका क्रममा बस्ने ठाउँ, पिउने पानी र शौचालयको उचित व्यवस्था नभएको गुनासोप्रति आफू गम्भीर रहेको बताउँदै गजुरेलले आधारभूत सुविधा व्यवस्थापनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

आर्थिक अनुशासन र प्रहरी आचरणमा सम्झौता नगर्न निर्देशन

कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरी कर्मचारीलाई आर्थिक अनुशासन र प्रहरी आचरणमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् ।राज्यले उपलब्ध गराएको तलब तथा सेवा सुविधामै सन्तुष्ट रहनुपर्ने बताउँदै उनले आर्थिक अनियमिततामा संलग्न हुने कर्मचारीलाई कुनै छुट नदिइने स्पष्ट पारे । व्यक्तिगत स्वार्थभन्दा सार्वजनिक हितलाई प्राथमिकता दिएर काम गर्न निर्देशन दिँदै काफ्लेले नागरिकसँग दैनिक सम्पर्कमा रहने भएकाले ट्राफिक प्रहरीले आफ्नो व्यवहार र कार्यशैलीमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनका अनुसार चालु आर्थिक वर्ष सुरु भएयता मात्रै २० देखि २५ जना प्रहरी कर्मचारीले जागिर गुमाइसकेका छन् । प्रहरी ऐन तथा नियमविपरीत काम गर्ने कसैले पनि उन्मुक्ति नपाउने उनले चेतावनी दिए ।ट्राफिक प्रहरीको मुख्य जिम्मेवारी नागरिकको आवागमन सहज बनाउनु रहेको उल्लेख गर्दै काफ्लेले आफ्नो कारणले कुनै पनि नागरिकले दुःख पाउन नहुने बताए । सडकमा खटिँदा विभिन्न परिस्थितिको सामना गर्नुपर्ने भएकाले प्रहरीले स्वविवेकीय अधिकारको उचित प्रयोग गर्नुपर्ने उनको भनाइ थियो ।

अस्पताल जान हतारिएका घाइते बोकेका नागरिक र मादक पदार्थ सेवन गरी सवारी चलाउने व्यक्तिलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने उनले बताए । परिस्थितिअनुसार व्यवहार गर्नुपर्ने उल्लेख गर्दै काफ्लेले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने वा कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई भने कानुनअनुसार कारबाही गर्नुपर्ने स्पष्ट पारे ।

उनले भने, ‘हामीलाई आर्थिक अनियमितताको आरोप लाग्नुजति दुःखद् कुरा अरू केही हुँदैन । कुनै पनि ट्राफिक प्रहरी कर्मचारी आर्थिक अनियमिततामा मुछिने काम गर्नुहुँदैन । राज्यले दिएको तलव तथा सेवा सुविधामै सन्तुष्ट हुनुपर्छ । त्यसमा चित्त बुझ्दैन भने जागिर छोडेर अन्य क्षेत्रमा जाने विकल्प हुन्छ । तर जागिर खाइसकेपछि सरकारले दिएको नीति तथा निर्देशनभन्दा बाहिर गएर कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले आर्थिक अनियमितता गर्नुहुँदैन ।’काफ्लेले प्रहरी कर्मचारीको व्यवहार मर्यादित, जिम्मेवार र परिस्थितिअनुकूल हुनुपर्नेमा जोड दिँदै व्यक्तिगत स्वार्थभन्दा नागरिकको हितलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट