काठमाडौँ : नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी गरेको सुन्दा खुशी लागेको बताएका छन्।
उनले सामाजिक सञ्जालबाट भनेका छन्, 'यसका लागि म धन्यवाद व्यक्त गर्न चाहन्छु। यो पहलबाट कपडा उपभोगमा रहेको हाम्रो आयातनिर्भरता कम हुनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु।'
उनले आफूले सरकारको नेतृत्व गर्दा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार भएको र त्यसैका आधारमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखानालगायतका उद्योग पुनः सञ्चालन गर्ने विषय अघि बढाइएको जानकारी दिएका छन्।
सघन गृहकार्य गरेर अघि सारिए पनि सरकारबाट बाहिरिएसँगै रोकिएको यो प्रक्रिया पुनः अघि बढ्नु सुखद कुरा भएको उनले बताएका छन्।
हेटौँडा कपडा उद्योगसँगै सम्भावना भएका अन्य सार्वजनिक उद्योगहरूलाई पनि आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित पुनः सञ्चालनमा ल्याउन सके आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशामा नेपालले ठूलो फड्को मार्ने पनि उनले बताए।
देशमा उत्पादन बढाउने, आयात घटाउने र रोजगारी सिर्जना गर्ने दिशामा यस्ता उद्योगको पुनरुत्थान महत्वपूर्ण कदम हुने बताउँदै उनले सरकारलाई यस प्रक्रियालाई परिणाममुखी ढंगले अघि बढाउन आग्रह पनि गरे।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij