नुवाकोट : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नुवाकोटका विभिन्न स्थानमा गएको पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको स्थलगत निरीक्षण गर्नुभएको छ।
मन्त्री तिमिल्सिनाले सूर्यगढी गाउँपालिका–१ स्थित सेमराङभिर तथा वडा नं. २ को फटपुर, पहरेथोक, रातमाटे, राम्चे र देविथानमा गएको पहिरोको निरीक्षण गर्नुभएको हो। पहिरोका कारण जोखिममा परेका बस्ती, अवरुद्ध सडक, विद्युत् सेवा तथा ड्वाचे खानेपानी आयोजनाको पाइपलाइनमा पुगेको क्षतिबारे उहाँले जानकारी लिनुभएको थियो।
निरीक्षणपछि मन्त्री तिमिल्सिनाले पहिरोका कारण जोखिममा परेका बस्तीको तत्काल संरक्षण तथा आवश्यक परे स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। यस्तै, अवरुद्ध सडक खुलाउन तथा खानेपानी र विद्युत् सेवा सञ्चालनका लागि आवश्यक प्रबन्ध मिलाउन समेत उहाँले निर्देशन दिनुभएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति तथा प्रभावित स्थानीयसँगको अन्तरक्रियामा मन्त्री तिमिल्सिनाले प्राविधिक अध्ययनका आधारमा आवश्यक कदम तत्काल अघि बढाइने बताउनुभयो। जोखिममा रहेका बस्तीलाई सुरक्षित बनाउने र त्यो सम्भव नभए प्रभावित परिवारलाई तत्काल स्थानान्तरण गर्ने सरकारको तयारी रहेको उहाँको भनाइ छ।
सूर्यगढी गाउँपालिका–१ र २ मा गएको पहिरोले तीन पालिकामा वितरण हुँदै आएको ड्वाचे खानेपानी आयोजनाको पाइपलाइन तथा विद्युत् प्रसारण लाइनमा क्षति पुर्याएको छ। सडक अवरुद्ध हुँदा स्थानीयको आवागमनसमेत प्रभावित भएको छ।
निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, सडक डिभिजन नुवाकोट तथा पूर्वाधार विकास कार्यालयका प्राविधिक सहभागी थिए।
मन्त्री तिमिल्सिनाले सूर्यगढीसहित दुप्चेश्वर, तादी, पञ्चकन्या र शिवपुरीलगायतका पालिकामा पहिरोबाट भएको क्षतिको आवश्यक अध्ययन गरी सङ्घीय सरकारको नेतृत्वमा सरोकारवाला निकायसँग समन्वय गरेर तत्काल काम अघि बढाउने बताउनुभएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij