नारायणगढ : कपडा व्यवसायी संघ चितवनको छैटौँ वार्षिक साधारणसभा आज यहाँ सम्पन्न भएको छ । चितवन उद्योग वाणिज्य संघको सभा हलमा सम्पन्न साधारणसभामा विभिन्न व्यावसायिक संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली रहनुभएको थियो । उहाँले देशमा नयाँ सरकार गठन भए पनि निजी क्षेत्रले तत्काल नयाँ कुरा पाउन नसकेको बताउनुभयो । उद्योगी व्यवसायीले राज्यको समग्र अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी योगदान पु¥याएको उल्लेख गर्दै उहाँले निजी क्षेत्रले राज्यको मेरुदण्डका रूपमा योगदान गरे पनि सहज रूपमा व्यवसाय सञ्चालन गर्न नपाएको गुनासो गर्नुभयो ।
राज्यले निजी क्षेत्रलाई उत्साहित बनाउने वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । राज्य डिजिटल बिलिङ र क्यूआर प्रणालीतर्फ अघि बढिरहेको उल्लेख गर्दै उहाँले अब व्यवसायीले कर प्रणालीलाई राम्ररी बुझेर व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभयो । भ्याट कारोबारमा समेत निष्पक्ष रूपमा प्रणाली लागू हुनुपर्ने उहाँको भनाइ थियो ।
नारायणगढ बजार व्यवस्थापनका विषयमा सरोकारवालासँग समन्वय गरेर अघि बढिरहेको उहाँले बताउनुभयो । पार्किङलगायत बजार व्यवस्थापनका लागि काम भइरहेको उल्लेख गर्दै उहाँले नारायणगढमा पार्किङको समस्या रहेको र यसको वैकल्पिक व्यवस्थापनका लागि पहल भइरहेको बताउनुभयो ।
यसैबीच, ओलीले निजी कम्पनीलाई नारायणी नदी किनारमा मेला महोत्सव सञ्चालन गर्न दिन नहुने बताउनुभयो। नारायणी नदी किनार खाली छ भन्दै वर्षमा १२ पटकसम्म मेला महोत्सव गर्न दिने हो कि होइन भन्ने प्रश्न गर्दै उहाँले यसबाट स्थानीय व्यवसायीको व्यवसाय प्रवद्र्धन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “के अब हामीले नारायणी नदी किनार खाली छ भनेर १२ महिनामा १२ पटक मेला गर्न दिने हो? यसले हाम्रो व्यवसायलाई प्रवद्र्धन गर्छ त?”
मेला महोत्सवका विषयमा सम्बन्धित पक्षसँग वार्ता र अनुरोधमार्फत समाधान खोज्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । सबै व्यवसायी एकजुट भएर अघि बढे चितवन उद्योग वाणिज्य संघ पनि विरोधमा उत्रने उहाँको भनाइ थियो ।
कपडा व्यवसायी संघ चितवनका अध्यक्ष निरज कुमार श्रेष्ठले अव्यावहारिक भन्सार दर र अनियन्त्रित अनलाइन तथा पोके व्यापारका कारण स्थानीय कपडा व्यवसायीहरू गम्भीर सङ्कटमा परेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले सीमा नाकामा सर्वसाधारणले निश्चित सीमाभन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार महसुल लिने सरकारको नीति स्वागतयोग्य भए पनि कपडामा लगाइएको उच्च भन्सार दरले गर्दा स्वदेशी व्यवसायीहरूले सीमावर्ती बजारसँग प्रतिस्पर्धा गर्न नसकेको बताउनुभयो । उहाँले भन्न्ुभयो, “सुती कपडामा १५ प्रतिशत र अन्य कपडाहरूमा ५ प्रतिशतबाट बढाएर १० देखि २० प्रतिशतसम्म भन्सार दर पु¥याइएको छ । यसमा भ्याट र अन्य शुल्क थपिँदा कपडा महँगो भई सर्वसाधारणको क्रयशक्ति घटेको छ ।” उहाँले सम्पूर्ण कपडाहरूमा एकीकृत रूपमा ५ प्रतिशत मात्र भन्सार दर कायम गर्न सरकारसँग माग गर्नुभयो ।
यसैगरी दर्ताबिना सञ्चालन भइरहेका पोके र घुमन्ते व्यापारी तथा हाटबजारका कारण स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर परेको अध्यक्ष श्रेष्ठको भनाइ थियो । विगतमा उद्योग वाणिज्य संघको पहलमा फुटपाथ र पोके व्यापार नियन्त्रणमा केही सुधार देखिए पनि पछिल्लो समय पुनः पुरानै समस्या दोहोरिएकाले यसको स्थायी समाधानका लागि उद्योग वाणिज्य संघ चितवनलाई पुनः पहल गर्न उहाँले आग्रह गर्नुभयो ।
पछिल्लो समय फस्टाउँदै गएको अनलाइन व्यवसायलाई पनि करको दायरामा ल्याउनुपर्नेमा ल्याउनुपर्ने भन्दै उहाँले घरभाडा र कर तिरेर, कर्मचारी राखेर व्यापार गर्नेहरू मारमा परेको उल्लेख गर्नुभयो । श्रेष्ठले भन्नुभयो , “अनलाइन व्यवसाय दर्ता गरेर मात्र सञ्चालन हुनुपर्छ । प्रत्येक सामान पठाउँदा कुरियर अफिसबाटै भ्याट वा प्यान बिल अनिवार्य गर्ने र क्युआर कोडमार्फत राजस्व कार्यालयसँग जोड्ने व्यवस्था मिलाइए मात्र व्यापारमा समानता आउँछ ।”
कार्यक्रममा संघका महासचिव दिलीप भट्टराईले महासचिवको प्रतिवेदन प्रस्तुत गर्नुभयो । संघका सल्लाहकार बद्रीलाल श्रेष्ठले संघको इतिहास र वर्तमान अवस्थाका बारेमा चर्चा गर्नुभयो ।
नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष विक्रम सापकोटाले घरबहालका सन्दर्भमा व्यवसायीले भोग्दै आएका समस्याबारे जानकारी गराउनुभयो । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले कपडा र फेन्सी व्यवसायी एकअर्काका परिपूरक तथा उस्तै प्रकृतिका व्यवसाय भएकाले मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
चितवन उद्योग वाणिज्य संघका उपाध्यक्षहरू राजन पिया, जनक पौडेल र नारायण प्रधानले व्यावसायिक विषयमा आफ्ना धारणा राख्दै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको समापन मन्तव्य संघका अध्यक्ष गोविन्दप्रसाद शिवाकोटीले गर्नुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष गुणराज पौडेल, संघका पदाधिकारी, विभिन्न वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, सल्लाहकार तथा व्यवसायीहरूको सहभागिता थियो। सो अवसरमा संघका कार्यालय सचिव बासु दवाडीलाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गरिएको थियो ।
Sanad
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij