चितवन : नेपाली महिलाहरूको प्रमुख पर्व तीज नजिकिँदै गर्दा नयाँ–नयाँ तीज गीत सार्वजनिक हुने क्रम बढेको छ । यही क्रममा ‘तीन आँखे आइफोन’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ ।
गीतमा कोमल ओली र अन्जना खतिवडाको स्वर रहेको छ । तीजको मौलिक स्वादसँगै पछिल्लो पुस्ताको प्रविधि र बदलिँदो जीवनशैलीलाई जोडेर तयार गरिएको गीतको शीर्षक नै आकर्षक छ—‘तीन आँखे आइफोन’।
गीतको शब्द चितवनको रत्ननगरका अनमोल गिरीले लेखेका हुन् भने बाबुल गिरीले संगीतकार तथा संगीत संयोजकको जिम्मेवारी सम्हालेका छन् । गीतको भिडियोमा रचना न्यौपाने र स्मारिका ढकालले नृत्य प्रस्तुत गरेका छन् ।
तीजको रमाइलो माहोल, आधुनिक जीवनशैली र मनोरञ्जनलाई समेटिएको गीतले दर्शक–श्रोतामाझ छुट्टै आकर्षण पैदा गर्ने अपेक्षा गरिएको छ । गीतको भिडियो ‘धुर्मुस–सुन्तली’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
परम्परागत तीज गीतको स्वादमा आधुनिक विषयवस्तु मिसाइएको ‘तीन आँखे आइफोन’ पछिल्लो पुस्तालाई लक्षित गर्दै तयार गरिएको देखिन्छ । तीजको दर, नाचगान र सामाजिक जमघटमा गीतले थप रौनक ल्याउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij