Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

भोटेकोशी बाढी : १८ विद्यालयमा क्षति, १२० बालबालिका अभिभावकविहीन

भोटेकोशी बाढी : १८ विद्यालयमा क्षति, १२० बालबालिका अभिभावकविहीन

काठमाडौँ : भदौ १० गते बिहानै रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो धनजनको क्षति भयो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म बाढीबाट १ हजार ३८६ जनाको मृत्यु भएको छ।

यही बाढीले रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन्। तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३ करोड ७३ लाख बराबरको हानि भएको छ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्यांकन (आरडिएनए) प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो।

प्रतिवेदनअनुसार १८ वटा विद्यालयका ५६ वटा भवन प्रभावित भएका छन्। जसमध्ये १५२ वटा कोठामा आंशिक र १५६ वटामा पूर्ण रूपमा क्षति पुगेको छ। स्थानीय तहअनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ। उक्त विद्यालयका दुईवटा भवनका ११ वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। मूल्यका हिसाबले यो ३.७५ करोड बराबरको क्षति हो।

रसुवाकै उत्तरगया गाउँपालिकामा रहेका तीनवटा विद्यालयका ६ वटा भवनमा ३६ वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यो करिब रु. १२.२९ करोड बराबरको क्षति हो। नुवाकोटको विदुर नगरपालिकामा रहेका नौवटा विद्यालय प्रभावित भएका छन्। विद्यालयमा ३२ वटा भवनमा क्षति पुगेकामा ६१ वटा कोठा आंशिक र ८९ वटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। जुन रु. ३६.६२ करोड बराबर हो।

धादिङको गल्छी गाउँपालिकाका तीन वटा विद्यालय प्रभावित भएका छन्। तीमध्ये १० वटा भवनका ७७ वटा कोठा आंशिक र आठवटा कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। जुन १०.६१ करोड बराबरको क्षति हो। सोही जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ। उक्त विद्यालयको दुईवटा भवनका १२ वटा कोठा पूर्ण रूपमा क्षति भएका छन्।

जुन रु. ४.१ करोड बराबरको क्षति हो। जिल्लाको सिद्धलेक गाउँपालिकामा एउटा विद्यालय चारवटा भवनका १४ वटा कोठामा आंशिक क्षति पुगेको छ। जुन १.४३ करोड बराबरको क्षति हो। प्रतिवेदनका अनुसार शैक्षिक सम्पत्तिका रूपमा रहेका रु. २४.९३ करोडको क्षति भएको छ। प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि चार अर्ब २३ करोड ३५ लाख खर्च लाग्ने आँकलन गरेको छ।

१२० बालबालिका अभिभावकविहीन

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीका अनुसार बाढीका कारण १२० जना अभिभावकविहीन बनेका छन्। उनीहरु हाल बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा राखिएका छन्।

उनीहरूलाई संरक्षणका लागि ललितपुरको गोदावरी नगरपालिका–१२, खेटोस्थित सरकारी भवनमा राष्ट्रिय बालअधिकार परिषद्अन्तर्गत अस्थायी संरक्षण केन्द्र स्थापना गर्ने कार्य तीव्र भइरहेको उनले जानकारी दिएकी छिन्।

शुक्रबार प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सकेसम्म उनीहरूलाई परिवारसँगै पुनर्मिलन गराउने बताइन्। यदि परिवार नभेटिएका वा आफन्तले हेर्न नसक्ने अवस्थाका बालबालिकाको भने सम्पूर्ण जिम्मा सरकारले नै लिने उनको भनाइ छ।

१० हजार विद्यार्थी पढाइबाट प्रभावित 

बाढीले कैयौँ विधार्थीहरूका अभिभावक बगाउँदा अभिभावकविहीन भएका छन् भने केही विद्यार्थी सम्पर्कविहीन भएका छन्। शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईका अनुसार बाढीबाट २८ जना शिक्षक र पाँच सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन भएका छन्। विद्यालय पूर्ण रूपमा क्षति हुँदा यी विद्यालयका १० हजार विद्यार्थी अहिले पढाइबाट प्रभावित भएको उनले जानकारी दिए। 

कसरी होला पठनपाठनको सुनिश्चिता ?
बाढीका कारण प्रभावित विद्यार्थीहरु यतिखेर पढ्नबाट वञ्चित भएका छन्। कहिलेबाट ढुक्कले पढ्न पाउने अझै यकिन टुंगो छैन। तैपनि शिक्षामन्त्री सस्मित पोखरेलले उनीहरूको पठनपाठनसँगै बस्न पाउने व्यवस्थाको सुनिश्चितता सरकारले गर्ने बताएका छन्।

उनले भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा पनि गरिसकेका छन्। उनका अनुसार मन्त्रालय र निजी क्षेत्रका विद्यालय सञ्चालकका छाता संगठनसँगको सहकार्यमा प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म अध्ययनरत बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम ल्याएको हो।

विद्यार्थीको पारिवारिक आर्थिक अवस्था र अभिभावक गुमाएको अवस्थाका आधारमा प्राथमिकता निर्धारण गरी छात्रवृत्ति उपलब्ध गराइने उनको भनाइ छ। उनले भनेका छन्, ‘बाढी प्रभावित पालिकाका विद्यार्थीलाई आवासीय सुविधा, विद्यालयमै आवासीय व्यवस्था तथा पूर्ण छात्रवृत्तिमार्फत सरकारले सहयोग प्रदान गर्ने छ’, उनले भने।

बाढीबाट प्रभावित सबै बालबालिकाको भविष्यलाई अँध्यारो हुन नदिने उनको प्रतिबद्धता छ।

शुक्रबार (कुशेऔँसी)को दिनमात्रै सामाजिक सञ्जालबाट भनेका छन्, ‘कति बुवाहरूले आफ्ना सन्तान गुमाउनुभयो, कति सन्तानले आफ्ना बुवाआमा गुमाउनुभयो, कतिपय बालबालिकाको टाउकोमा राख्ने हात रहेन, कतिपय आमाबुवाको जीवनमा फर्केर आउने सन्तान नै रहेनन्,अझै पनि धेरै परिवार आफ्ना प्रियजनको खोजी र पीडासँगै बाँचिरहेका छन्, हामी उनीहरूका गुमेको अभिभावक फिर्ता दिन सक्दैनौँ तर उनीहरूको भविष्य अँध्यारो हुन नदिने जिम्मेवारी अवश्य लिन सक्छौँ।’

मन्त्रालयका प्रवक्ता भट्टराईले बाढीबाट प्रभावित विद्यार्थीहरूलाई के कसरी पठनपाठनको व्यवस्थापन गर्ने भनेर यसका लागि विभिन्न विकल्पबारे छलफल भइरहेको जानकारी दिए। उनले भने, ‘अहिले विद्यार्थीहरूलाई सुरक्षित ढंगले होल्डिङ सेन्टरमा राखिएको छ, अब उहाँहरूलाई के कसरी व्यवस्थापन गरेर पढाउने त्यसबारे विभिन्न विकल्पमा छलफल गरिरहेका छौँ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट