काठमाडौं : सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा एआईजी डा. मनोज केसीलाई बढुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अपराध अनुसन्धान विभागका प्रमुख रहेका केसीलाई प्रहरीको ३४औँ महानिरीक्षक बनाउने निर्णय गरेको हो।सरकारले हालका आईजीपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको छ। कार्कीको कार्यकाल २७ चैत २०८४ सम्म रहे पनि सरकारले करिब डेढ वर्षअघि नै उनलाई पदबाट हटाउने निर्णय गरेको हो।केसी र कार्की एउटै ब्याचीका प्रहरी अधिकारी हुन्। दुवै जना २८ चैत २०५४ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना भएका थिए। एआईजीमा बढुवा हुँदा केसी तेस्रो नम्बरमा थिए। पहिलो नम्बरमा कार्की र दोस्रो नम्बरमा राजन अधिकारी थिए। सरकारले दुवैलाई पछि पार्दै केसीलाई आईजीपी नियुक्त गरेको हो।
केसी २६ मंसिर २०६६ मा प्रहरी नायब उपरीक्षक (डीएसपी), १९ साउन २०७४ मा प्रहरी उपरीक्षक (एसपी), ३ साउन २०७९ मा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी), १३ जेठ २०८१ मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) र ११ वैशाख २०८२ मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका थिए।अपराध अनुसन्धानमा विशेष अनुभव हासिल गरेका केसी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको अनुसन्धानमा नेतृत्वदायी भूमिकामा थिए। उनी अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला उक्त प्रकरणको अनुसन्धान अघि बढेको थियो। उक्त मुद्दाको अभियोजन प्रक्रियामा भने तत्कालीन एआईजी दानबहादुर कार्कीको पनि भूमिका रहेको थियो।
केसीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), अपराध अनुसन्धान विभाग, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, विशेष ब्युरो, प्रहरी एकेडेमी तथा विभिन्न जिल्ला प्रहरी कार्यालयमा रहेर काम गरिसकेका छन्।सीआईबीमा रहँदा उनले पर्यटकीय क्षेत्रमा हुने नक्कली हवाई उद्धार (फेक रेस्क्यु) ठगी, स्मार्ट टेलिकम ठगी, धितोपत्र तथा बीमा ठगी, क्रिप्टोकरेन्सी अपराध र सरकारी जग्गा अतिक्रमण तथा हिनामिनासम्बन्धी अनुसन्धानको नेतृत्व गरेका थिए।
नेपाल प्रहरीमा पहिलोपटक लागू भएको स्टाफ कलेजका संस्थापक निर्देशकसमेत रहेका केसीले प्रहरी विज्ञानमा स्नातकोत्तर तहको पाठ्यक्रम निर्माणमा योगदान गरेका छन्।उनले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन्। सोही विश्वविद्यालयबाट व्यवहारिक द्वन्द्व रूपान्तरणमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्।
केसीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हाइटीमा समेत काम गरेका छन्। फ्रान्सेली र स्पेनी भाषामा दख्खल राख्ने उनले संगठित अपराध नियन्त्रणसम्बन्धी दुई पुस्तकसमेत लेखेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij