धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर खण्ड अझै पूर्ण रूपमा सञ्चालनमा नआउने भएको छ। सडक विभागले प्रेस विज्ञप्ति जारी गर्दै हाल सडक पुनर्स्थापना कार्य जारी रहेकाले तत्काल यातायात खुलाउन नसकिने जनाएको हो।
गत भदौ १० र १४ गते त्रिशूली नदीमा आएको बाढीका कारण करिब १०० मिटर सडक बगाएर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। त्यसपछि विभागले नयाँ ट्र्याक निर्माण तथा सडक पुनर्स्थापनाको काम तीव्र रूपमा अघि बढाइरहेको जनाएको छ।
यसैबीच, निर्माणाधीन ट्र्याकको अवस्था परीक्षण गर्न काठमाडौंबाट चितवनतर्फ २० वटा सवारी र चितवनबाट काठमाडौंतर्फ केही सवारी सफलतापूर्वक सञ्चालन गरिएको विभागले जनाएको छ। परीक्षण सफल भए पनि सडकको स्तरोन्नति र सुरक्षा व्यवस्थापन बाँकी रहेकाले तत्काल पूर्ण सञ्चालन सम्भव नभएको स्पष्ट गरिएको छ।
सडक विभागका अनुसार असोज १ गतेदेखि उक्त खण्ड पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। त्यसअघिसम्म कृष्णभीर क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहनेछ र यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij