Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

‘१२ गाउँ २’को पहिलो गीत ‘जुनेली’ सार्वजनिक, समीर र कृशुको ब्रेकडान्सले तान्यो ध्यान

‘१२ गाउँ २’को पहिलो गीत ‘जुनेली’ सार्वजनिक, समीर र कृशुको ब्रेकडान्सले तान्यो ध्यान

काठमाडौं : अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘१२ गाउँ २’ को पहिलो गीत ‘जुनेली’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा अभिनेता समीर भट्ट र डेब्यु अभिनेत्री कृशु शाही ‘काफिया’को आकर्षक नृत्यसँगै ब्रेकडान्स प्रस्तुत गरिएको छ।

लामो समयपछि नेपाली चलचित्रमा ब्रेकडान्सलाई विशेष प्राथमिकता दिइएको यस गीतको भिडियो आकर्षक बनाइएको निर्माण टिमले जनाएको छ। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा युग भुसालको शब्द तथा संगीत र सुगम पोखरेलको स्वर रहेको छ।

 

अडियोसँगै भिडियोमा पनि विशेष मेहनत गरिएको ‘जुनेली’ले चलचित्रको प्रचारलाई थप गति दिने अपेक्षा गरिएको छ। यसअघि सार्वजनिक फस्टलुक पोस्टरबाट दर्शकमाझ बनेको ‘१२ गाउँ २’को हाइपलाई गीतले अझ बढाउने निर्माण पक्षको विश्वास छ।

बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको चलचित्रको कथा सन्तोष सरकारले लेखेका हुन्। महेश पौडेलले छायांकन गरेको चलचित्रमा सरस्वती भट्टको लगानी रहेको छ।


चलचित्र आगामी असोज ३० गते दशैंको फूलपातीको अवसर पारेर देशभर प्रदर्शन हुँदैछ। चलचित्रमा समीर भट्ट र कृशु शाहीसँगै निर्देशक विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ। कृशु शाही ‘काफिया’ र वर्षा इटनीले यही चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन्।

चलचित्रमा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ। चलचित्रको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन्।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट