गुल्मी : गुल्मीको मालिका गाउँपालिका–२, खोलाखर्कमा देवरको कुटपिटबाट घाइते भएकी भाउजुको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले देवर बलबहादुर खत्रीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ४६ वर्षीय बलबहादुरले मादक पदार्थ सेवन गरी आफ्नै भाउजु ४२ वर्षीया लिला खत्रीलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी लिलालाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रभास पठाइएको थियो ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी पौदीअमराई, गुल्मीबाट खटिएको प्रहरी टोलीले घाइतेलाई अस्पताल पुर्याएको थियो । घटनामा संलग्न रहेको आरोपमा बलबहादुर र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २०८३ असोज २८ गते बिहान करिब ११ बजे लिलालाई उनका छोरा हिराबहादुर खत्रीले अस्पतालबाट घर लैजाने क्रममा दिउँसो साढे १२ बजेतिर बाटोमा शंका लागेपछि जिल्ला अस्पताल गुल्मी, तम्घासमा जाँच गराएका थिए ।
जिल्ला अस्पतालमा जाँचका क्रममा दिउँसो करिब २ बजे चिकित्सकले लिलालाई मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij