काठमाडौँ : रसुवाको भोटेकोसी तथा ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूका लागि हेल्प नेपाल नेटवर्कले विभिन्न चरणमा आकस्मिक उद्धार तथा राहत सामग्रीहरू वितरण गरेको छ । रसुवाको गोसाईंकुण्ड गाउँपालिकाबाट विस्थापित भई हाल ललितपुरको गोदावरीमा बसोबास गरिरहेका १७ बाढीपीडित परिवारलाई हेल्प नेपाल नेटवर्कले विशेष राहत प्याकेज उपलब्ध गराएको छ ।
भान्छा र खाद्यान्नका लागि १७ थान ग्याँस चुलो, प्रतिपरिवार २५ केजी चामल, १ केजी दाल, १ प्याकेट नुन, १ लिटर खाने तेल, र पर्याप्त मात्रामा चिउरा, दालमोठ, फुरनदाना, जुस तथा १६ कार्टुन बिस्कुट उपलब्ध गराएको छ । यस्तै साना बच्चाहरूका लागि पोसिलो लिटो, स्वास्थ्य र औषधि समेत प्रदान गरिएको संस्थाले जनाएको छ।
‘१७ सेट विशेष हाइजिन किट् र अत्यावश्यक औषधिहरू उपलब्ध गराएका छौँ,’ हेल्प नेपाल नेटवर्कका ग्लोबल नेटवर्क दिला खरेलले भने ‘विस्थापितहरूको पीर, मर्का बुझेर सहयाेग गरेका छौँ।’
विशेष हाइजिन किट्मा मन्जन, ब्रस, सेनेटरी प्याड, नेल कटर, वाटरगार्ड, बिटाडिन, कटन रोल, स्यानिटाइजर, ट्वाइलेट पेपर वितरण गरिएको उनले बताए।
हेल्प नेपालले रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावित परिवारहरूलाई बाढी लगत्तै खाद्यान्न र स्वास्थ्य तथा सरसफाइ किट उपलब्ध गराएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij