Logo

Oct 26 2026 | २०८३, कार्तिक १०गते

नारायणी नदीमा डुबेर दुई जना बेपत्ता, एक जनाको सकुशल उद्धार

नारायणी नदीमा डुबेर दुई जना बेपत्ता, एक जनाको सकुशल उद्धार

नवलपुर : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोटस्थित नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्। नदीमा डुबेकी एक किशोरीलाई उद्धार गर्न नदीमा पसेका दुई जनासहित तीन जना डुबेकोमा एक जनाको सकुशल उद्धार गरिएको छ।
प्रहरीका अनुसार आज साँझ करिब ५:२० बजे गैँडाकोट नगरपालिका–१ स्थित ब्रिटिस क्याम्प पार्क नजिक नारायणी नदीमा सो घटना भएको हो।
गैँडाकोट नगरपालिका–१ निवासी १७ वर्षीया वर्षा सुनार नदीमा पसेर डुबेको देखेपछि उनलाई उद्धार गर्न गैँडाकोट–२ निवासी १५ वर्षीय प्रतीक सापकोटा र १४ वर्षीय सबिन सुनार नदीमा गएका थिए। सो क्रममा तीनै जना नदीमा डुबेर बेपत्ता भएका थिए।
घटनापछि चितवनको राप्ती नगरपालिका–९ निवासी ४१ वर्षीय चेकमान सिंह लामाले १४ वर्षीय सबिन सुनारको सकुशल उद्धार गरेका छन्। नदीमा डुबेर बेपत्ता भएका वर्षा सुनार र प्रतीक सापकोटाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक लक्ष्मण गिरीको कमाण्डमा १० जना र सशस्त्र प्रहरी बल नेपाल, पितौजीबाट सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र खड्काको कमाण्डमा १० जना गरी २० जनाको टोली घटनास्थलमा खटिएको छ।
बोटसहित परिचालित सुरक्षाकर्मीले नारायणी नदीमा बेपत्ता दुई जनाको खोजी कार्य जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij