गण्डकी : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन्।पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उनले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्ने धारणा राखे।
“विप्रेषण यति आयो भनेर बसेर मात्र हुँदैन, हामीले हाम्रै निजी क्षेत्रको विकासमा जोड दिनुपर्छ”, उनले भने, “निजी क्षेत्रसँग मिलेर काम गर्न अहिलेको सरकारसँग हुटहुटी छ।”
मुलुकको आर्थिक विकाससँगै रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको भन्दै यसमा राज्यले विशेष ध्यान दिनुपर्ने उनले बताए।
पर्यटनमा नेपालले अथाह सम्भावना बोकेको उल्लेख गर्दै सभामुख अर्यालले विश्व पर्यटन बजारमा नेपालको उपस्थितिलाई बलियो बनाउनुपर्ने बताए।
पर्यटन विधेयक अगाडि बढेको जनाउँदै उनले कानुन निर्माण प्रकृयामा पर्यटन व्यवसायीलगायत सरोकार भएका पक्षको चासो र सरोकारलाई समेटिने बताए।
“कुनै पनि कानुन निर्माण हुँदा पर्यटनसँग सम्बन्धित विषयमा यहाँहरूले पनि चासो लिनुहोस्, आवश्यकताका आधारमा कानुनलाई परिमार्जन र संशोधन गर्न सकिन्छ”, सभामुख अर्यालले भने, “सरोकार भएका पक्षलाई जानकारी नदिई र छलफल नगरी कुनै पनि कानुन बन्नुहुँदैन।”
सरकारले पोखरा, चितवन, बर्दियालगायत ठाउँको पर्यटन विकासलाई विशेष महत्त्वका साथ लिएको उनले बताए।
सो अवसरमा पोखरा पर्यटन परिषद्का तर्फबाट दिगो पर्यटन विकाससँग सम्बन्धित १० बुँदे माग समेटिएको ध्यानाकर्षणपत्र सभामुख अर्याललाई बुझाइएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij