Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

तीन महिनामा २ लाख बढी नेपाली गए वैदेशिक रोजगारीमा

तीन महिनामा २ लाख बढी नेपाली गए वैदेशिक रोजगारीमा

काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा २ लाख ४ हजार २४८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।वैदेशिक रोजगार विभागका अनुसार साउन, भदौ र असोज महिनामा गरी २ लाख ४ हजार २४८ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका हुन् । साउनमा ७० हजार ४४१ र भदौमा ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका थिए ।

चालु आवको साउन महिनाको तुलनामा भदौमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको थियो । तर, असोज महिनामा भने भदौ र साउन दुवै महिनाको तुलनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या बढेको छ ।विभागले सार्वजनिक गरेको असोज महिनाको तथ्यांकअनुसार करिब ७४ हजार नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।पछिल्लो एक महिनाको अवधिमा ७३ हजार ७६५ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा श्रम स्वीकृति लिने पुरुषको संख्या ६३ हजार ३७७ रहेको छ भने महिलाको संख्या १० हजार ३८८ रहेको छ ।

कुल श्रम स्वीकृति लिनेहरूमध्ये म्यानपावर कम्पनीमार्फत संस्थागत, व्यक्तिगत र जी–टु–जी माध्यमबाट नयाँ श्रम स्वीकृति लिनेको संख्या ४३ हजार ५५९ छ । यसैगरी, बिदामा नेपाल आएर पुनः श्रम स्वीकृति लिएर फर्किनेको संख्या ३० हजार २०६ रहेको छ ।गत भदौमा श्रम स्वीकृति लिनेमा ५१ हजार ८४३ जना पुरुष र ८ हजार १९९ जना महिला रहेका थिए । तीमध्ये ३५ हजार ६२७ जनाले पहिलोपटक नयाँ श्रम स्वीकृति लिएका थिए भने २४ हजार ४१५ जनाले बिदामा फर्किएर पुनः श्रम स्वीकृति लिएका थिए ।

पछिल्लो समय नेपाली श्रमिकहरूको पहिलो रोजाइमा संयुक्त अरब इमिरेट्स (यूएई) देखिएको छ । खाडीका अन्य देश मलेसिया र साउदीलाई उछिन्दै यूएई जान सबैभन्दा धेरैले अनुमति लिएका छन् । युरोपेली राष्ट्र रोमानियाले पनि उल्लेख्य मात्रामा नेपाली श्रमिक लगेको देखिन्छ ।असोज महिनामा यूएईका लागि २३ हजार ८९९ जना, कतारका लागि ११ हजार ४९७ जना, मलेसियाका लागि ९ हजार ६५३ जना, साउदी अरेबियाका लागि ८ हजार ३६६ जना र कुवेतका लागि ५ हजार २७ जनाले श्रम स्वीकृति लिएका छन् ।खाडीका मुलुकबाहेक युरोपेली राष्ट्र रोमानियाका लागि २ हजार ४७८ र जापानका लागि १ हजार ४९५ जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको सीपका आधारमा विश्लेषण गर्दा उच्च दक्ष जनशक्तिको पलायन निकै कम देखिएको छ भने सामान्य दक्ष र अदक्ष श्रमिकको संख्या अत्यधिक छ ।विभागका अनुसार दक्ष श्रमिक ४० हजार ७००, अदक्ष २० हजार २२८, अर्धदक्ष १२ हजार ३४२, व्यावसायिक जनशक्ति ४१५ र उच्च दक्ष जनशक्ति ८० जना वैदेशिक रोजगारीका लागि बाहिर गएका छन् ।त्यस्तै, जिल्लागत रूपमा कोशी र मधेस प्रदेशका जिल्लाहरूबाट वैदेशिक रोजगारीमा जानेको चाप सबैभन्दा बढी देखिएको छ । सबैभन्दा बढी झापा जिल्लाबाट ३ हजार ४९० जनाले श्रम स्वीकृति लिएका छन् ।

दोस्रोमा धनुषाबाट ३ हजार ३२६ र तेस्रोमा मोरङबाट ३ हजार १७७ जना रहेका छन् । त्यसैगरी, सिराहाबाट २ हजार ७२३ र सुनसरीबाट २ हजार ५११ जनाले श्रम स्वीकृति लिएका छन् । मनाङ, मुस्ताङ र डोल्पाजस्ता हिमाली जिल्लाहरूबाट विदेश जानेको संख्या भने न्यून, ५० जनाभन्दा कम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट