काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले पहिलो जित निकालेको छ ।भर्खरै सम्पन्न खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो ।
पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो ।
दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । उनी ५१ रनमा अविजित रहे । ३६ बल खेलेका ऐरीले ४ चौका र २ छक्का प्रहार गरे । यस्तै, ईशान पाण्डेले ३७ रनको योगदान दिए भने ब्रान्डन म्याकमुलनले २२ तथा सैफ जइबले १५ रन जोडे ।
बलिङतर्फ पोखराका मेहदी हसन, धनन्जय लक्षण र शकिब अल हसनले एक–एक विकेट लिए ।
यसअघिको पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो । पोखराको भने यो पहिलो हार हो ।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको पोखराले २० ओभरमा ७ विकेटको क्षतिमा १४५ रन जोड्यो ।अर्जुन घर्तीले अविजित ४० रनको योगदान दिए । २५ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गर्दै पोखराको लक्ष्य उकासे ।
यस्तै, मेहदी हसनले ३२ तथा कुशल भुर्तेलले २१ रन जोडे । शकिब अल हसनले १४ रन बनाउँदा धनन्जय लक्षणले ११ रन जोडे ।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले तीन विकेट लिँदा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र स्कट कुग्लेइनले एक–एक सफलता हात पारे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij