Logo

Nov 01 2026 | २०८३, कार्तिक १६गते

भोटेकोशी र त्रिशूली बाढीपीडितका लागि नेपालले पाउने भयो पौने ३ अर्ब अनुदान

भोटेकोशी र त्रिशूली बाढीपीडितका लागि नेपालले पाउने भयो पौने ३ अर्ब अनुदान

काठमाडौँ :  भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि नेपालले २१.६ मिलियन अमेरिकी डलर (करिब पौने ३ अर्ब नेपाली रुपैयाँ अनुदान सहयोग पाउने भएको छ। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना अन्तर्गतको हानि–नोक्सानी सम्बोधन कोषले नेपाललाई सो रकम उपलब्ध गराउने निर्णय गरेको छ।

भदौ १० गते आएको भयानक बाढीलाई हिमालयन सुनामीका रूपमा उल्लेख गर्दै सरकारले सो बाढीका कारण पुगेको ठुलो मानवीय र आर्थिक क्षतिलाई दृष्टिगत गरी ३१ अगस्ट २०२६ मा उक्त बोर्ड समक्ष विशेष आर्थिक सहयोगका लागि आग्रह गरेको थियो।

सोही आग्रह बमोजिम १२ अक्टोबर २०२६ मा बसेको बोर्डको विशेष बैठकले नेपाललाई क्षतिपूर्ति अनुदान उपलब्ध गराउने निर्णय गरेको परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

यसैगरी ९ देखि २० नोभेम्बर २०२६ सम्म टर्कीको अन्तालियामा आयोजना हुने विश्व जलवायु सम्मेलन (कोप–३१) मा नेपालको उच्चस्तरीय सहभागिता रहने मन्त्रालयले जनाएको छ । सम्मेलनका लागि आवश्यक तयारी तीव्रताका साथ अगाडि बढाइएको छ।

कोप–३१ का क्रममा नेपाल र दक्षिण कोरियाबिच जलवायु परिवर्तन सम्बन्धी सहकार्यका लागि फ्रेमवर्क एग्रिमेन्ट फर को–अप्रेसन अन क्लाइमेट चेन्जमा हस्ताक्षर गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ।

साथै, उक्त अन्तर्राष्ट्रिय सम्मेलनको साइडलाइन छलफलहरुमा नेपालले अन्य पर्वतीय मुलुकहरूसँगको सहकार्यमा जलवायु परिवर्तन र पर्वतीय मुद्दाहरूबारे छलफल गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट